नवलपुर, भदौ १३ । भोटेकोशीको विनाशकारी बाढीमा परी नवलपुरमा संकलन भएर पहिचान नखुलेका बेवारिसे शव व्यवस्थापन गरिने भएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयानुसार पहिचान हुन नसकेका शवलाई डिएनएका लागि नमुना संकलन गरी संकेत नम्बर राखेर व्यवस्थापन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
साधन स्रोतको अभावले शव राख्न नसकिने र त्यस्ता शव राख्दा झन दुर्गन्धित भएर थप समस्या आउन सक्ने भएकाले गाडेर व्यवस्थापन गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिनभयो ।
विषम् अवस्थालाई मध्यनजर गर्दै पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम शव व्यवस्थापन गर्ने निर्णय भएको प्रजिअ उपाध्यायले जानकारी दिनुभयोयो । त्यसका लागि कावासोती र देवचुलीका दुई सामुदायिक वनमा व्यवस्थापन गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दिउँसो ३ बजेसम्म एक सय ६५ वटा शव संकलन भएका छन् । जसमध्ये ५७ पुरुष, ३५ महिला, २१ बालबालिका र ५२ वटा अन्य शवका टुक्रा रहेका छन् । तीमध्ये तीन वटा शव मात्र आफन्तलाई बुझाइएको छ भने बाँकी शव विभिन्न स्वास्थ्य संस्था र होल्डिङ सेन्टरमा राखिएको छ ।
प्रशासनका अनुसार सबै शवको डिएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिनेछ । यसबाट भविष्यमा शवको पहिचान खुलेमा सम्बन्धित परिवारलाई जानकारी गराउन सहज हुने प्रशासनले जनाएको छ ।
