• ट्रेण्डिङ्ग :
‘सुर्खेत-बर्दिया जोड्ने सुरुङमार्ग बनाउन सके कर्णाली समृद्ध बन्छ’

‘सुर्खेत-बर्दिया जोड्ने सुरुङमार्ग बनाउन सके कर्णाली समृद्ध बन्छ’


  • 5.0K
    SHARES
    • भाद्र १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    ‘सुर्खेत-बर्दिया जोड्ने सुरुङमार्ग बनाउन सके कर्णाली समृद्ध बन्छ’

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सुर्खेतबाट पहाडी जिल्ला जोड्ने सडकको स्तरोन्नति र सुर्खेत-भुरीगाउँ (बर्दिया) जोड्ने सुरुङमार्ग निर्माण गर्न सके कर्णाली प्रदेश समृद्ध बन्ने बताएका छन् ।

    images

    सुर्खेत उद्योग वाणिज्य संघद्वारा बिहीबार आयोजित स्वागत कार्यक्रममा ज्ञापनपत्र बुझ्दै उनले विकासका लागि यातायात पूर्वाधार पहिलो सर्त भएको बताए । अर्थमन्त्री शर्माले संघीय सरकारले चालु आवको नीति तथा कार्यक्रम र बजेटमार्फत सडक र सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिएको प्रस्ट पारे ।

    विगतमा सडकको विकासले गति लिन नसक्दा कर्णालीका जिल्ला विकासमा पछाडि परेको उनको भनाइ थियो । संघले अर्थमन्त्री शर्मासमक्ष २१ बुँदे तत्कालीन, अल्पकालीन र दीर्घकालीन रुपमा पूरा गर्नुपर्ने मागपत्र पेस गरेको थियो । मागपत्रमा सुर्खेत विमानस्थल विस्तार, प्रादेशिक औद्योगिक क्षेत्र निर्माण, कर्णाली करिडोर, भेरी करिडोर, कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन आयोजना निर्माणमा तीव्रता दिनुपर्ने, कोभिड-१९ ले थला परेको व्यवसायको पुनरुत्थानका लागि पुनःकर्जा नीति खुकुलो बनाइनुपर्नेलगायत विषय समावेश गरिएको छ ।

    संघले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह माग गरिएको सङ्कुचनको निर्णय पनि पुनर्विचार गर्न माग गरेको छ । संघका अध्यक्ष लक्ष्मण कँडेलले सुर्खेत विमानस्थल विस्तार नहुँदा कर्णालीको पर्यटन व्यवसायले गति लिन नसकेको र काठमाडौँ जान महँगो भाडा तिनुपर्ने बाध्यता रहेको बताए ।

    सुर्खेतको लेकबेँसी नगरपालिकाको साटाखानीमा प्रस्तावित औद्योगिक क्षेत्र स्थापनासम्बन्धी कार्य अध्ययनमै सीमित गरिएको भन्दै अध्यक्ष कँडेलले तत्काल बाँकी काम अघि बढाउन पहल गरिदिन आग्रह गरे ।

    अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको भन्दै कतिपय समस्याको प्याकेजमै सम्बोधनका लागि सरकारले गृहकार्य गरिरहेको बताए । साथै उनले कर्णालीको आर्थिक विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच समुचित समन्वयको खाँचो औँल्याए ।