• ट्रेण्डिङ्ग :
४ महिनापछि सञ्चालनमा आयो बेनी-भकिम्ली सडक

४ महिनापछि सञ्चालनमा आयो बेनी-भकिम्ली सडक


  • 5.4K
    SHARES
    • आश्विन १५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    ४ महिनापछि सञ्चालनमा आयो बेनी-भकिम्ली सडक

    गलेश्वर । पहिरोका कारण गत जेठ अन्तिम सातादेखि अवरुद्ध बनेको बेनी-भकिम्ली सडक चार महिनापछि पूर्ण रुपमा सञ्चालनमा आएको छ । म्याग्दीको बेनीनगरपालिका ३, भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिरोका कारण अवरुद्ध बेनी-भकिम्ली सडक चार महिनापछि शुक्रबारदेखि सञ्चालनमा आएको हो । यसअघि सामान्य मर्मत गरिए पनि सडक नियमित सञ्चालनमा आउन सकेको थिएन ।

    images

    सदरमुकाम बेनीबाट दूधेखोला-हलेगौंडा-डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडक खण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिरोले सडक बगाएपछि भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको थियो ।

    ‘अब ठूला सवारीसाधन पनि नियमित आवतजावत गर्न मिल्छ, बाटो अवरुद्ध हुँदा भकिम्लीवासीले धेरै सास्ती खेप्नुपरेको थियो,’ भकिम्लीका याम घर्तीमगरले भने । उनका अनुसार बर्खा लागेपछि केही समय मोटरसाइकल मात्रै आवतजावत गर्ने बाटो बनाइए पनि लगातारको बाढी-पहिरोले बगाएपछि भकिम्लीवासीले पैदल मार्गको प्रयोग गरी सदरमुकाम बेनीसम्म जानुपर्ने बाध्यता थियो ।

    पहिरोले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण मार्गको प्रयोग गर्न बाध्य भएका छन् । बेनीनगरपालिका र स्थानीय बासिन्दाले श्रमदान गरेर खोल्ने प्रयास गरे पनि असफल भएपछि अलपत्र अवस्थामा रहेको सडक मर्मत सम्भारका लागि कृष्ण छन्त्यालको अध्यक्षतामा उपभोक्ता समिति बनाइएको थियो । गत वर्ष ढलानसहितको सडक पहिरोले बगाएपछि वैकल्पिक मार्ग हुँदै सडक सन्जाल जोड्ने प्रयास गरिएको थियो ।

    पहिरोले हलेगौंडासहित आसपासका क्षेत्रका बस्ती जोखिममा परेको छ । भकिम्ली हुँदै छिमेकी बागलुङको काठेखोला र ताराखोला गाउँपालिकाका बासिन्दाले आवतजावत गर्ने गरेका छन् । भकिम्ली जाने वैकल्पिक सडकअन्तर्गत ज्यामरुककोट, बेनी-थामडाँडा सडकखण्डअन्तर्गत राखु र मरेक हुँदै आवतजावत गर्न सकिन्छ । भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो मानिन्छ । नगरपालिकाले उक्त सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । करिब सात सय ५० घरधुरीको बसोबास रहेको भकिम्लीवासीलाई सहज हुने गरी सडक मर्मतको प्रयास भए पनि उक्त स्थान सधैं जोखिम बन्दै गएकाले अहिले मर्मत गरी सञ्चालनमा ल्याइएको वडाध्यक्ष पदम पुनले बताए ।

    ‘नयाँ ट्रयाक खुले पनि केही ठाउँमा बर्सेनि सताउने गरेको छ, मर्मतपछि स्थानीयलाई घुमाउरो र वैकल्पिक मार्गको प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ,’ अध्यक्ष पुनले भने । एक वर्ष अगाडि ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेपछि उक्त मार्गमा नियमित जसो अवरुद्ध हुन थालेपछि वैकल्पिक मार्गको सर्भे भएको थियो । यो सडक विस्तार, स्तरोन्नतिमा स्थानीयको चन्दा श्रमदान रहेको छ । -रासस

    -प्रतीकात्मक तस्बिर


    तेस्रो आँखा