• ट्रेण्डिङ्ग :
पोखरामा इन्धन भण्डारण गृह निर्माण

पोखरामा इन्धन भण्डारण गृह निर्माण


  • 3.0K
    SHARES
    • श्रावण २, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    पोखरामा इन्धन भण्डारण गृह निर्माण

    पोखरा, २ साउन । नेपाल आयल निगमले दुई दशकपछि पोखरामा इन्धन भण्डारण गृह निर्माण गरेको छ । इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन पोखरामा एक करोड लिटर (१० हजार किलोलिटर) क्षमताको डिजेल भण्डारण गृह निर्माण गरिएको हो ।सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले दुई दशकपछि पोखरामा डिजेल भण्डारण गृह निर्माण भएको हो । निगमले विसं २०५६ यता नयाँ भण्डारण गृह निर्माण गर्न सकेको थिएन । 

    images

    इन्धन भण्डारण गृह नहुँदा इन्धन आपूर्तिमा अवरोध हुँदा बजारमा अभाव हुने गरेको थियो । हाल मुलुकभर ६८ हजार किलोलिटर इन्धन भण्डारण रहेकामा थप १० हजार किलोलिटर डिजेलको भण्डारण थपिएको निगमले जनाएको छ । सोमबार आयोजित कार्यक्रममा भण्डारण गृहको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न भण्डारणले सहयोग पुग्ने बताउनुभयो । 

    पेट्रोलियम ऊर्जामा पहुँच अभिवृद्धि कार्यले औद्योगिक विकासलाई अगाडि बढाउन, नागरिकको जीवनस्तर सुधार गर्न तथा नवप्रवर्तन र अवसरको वातावरण बनाउन अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरिने उहाँको भनाइ छ । ऊर्जा पूर्वाधारलाई सुदृढ गर्ने र राष्ट्रको ऊर्जा सुरक्षा सुनिश्चित गर्ने सरकारको प्रतिबद्धताको प्रमाणसमेत रहेको उहाँको भनाइ छ । सो अवसरमा वाणिज्य सचिव मधु मरासनीले इन्धन डिपो निर्माण भएर पोखरामा मात्र नभएर अन्य जिल्लामा पनि इन्धन आपूर्ति गर्न सहज पुग्ने बताउनुभयो । इन्धनको डिपो निर्माणले ऊर्जा सुरक्षासँगै आर्थिक विकासमा अगाडि बनाउन सहयोग पुग्ने बताउनुभयो ।  

    निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पोखरामा भण्डारण क्षमता विस्तारले गण्डकी प्रदेशमा इन्धनको बिक्रीवितरणलार्ई सृदृढ बनाउन कोसेढुङ्गा हुने जानकारी दिनुभयो । दुई दशकपछि निगमको आफ्नै लगानीमा निर्माण गरिएको डिजेल भण्डारण गृह देशकै तेस्रो भण्डारण गृह भएको उहाँले जानकारी दिनुयभो । नयाँ विस्तारसँगै डिजेलको भण्डारण क्षमता मुलुकभर ५४ हजार किलोलिटर पुगेको र यसले १५ दिनको राष्ट्रिय माग धान्ने उहाँले जानकारी दिनुभयो । 

    आधुुनिक प्रविधिसहित डिपो निर्माण गरिएको उहाँको भनाइ छ । पोखरामा भण्डारण गृह विस्तारले एक महिनालाई माग धान्न सक्ने क्षमता भएको उहाँको भनाइ छ । ८९ करोड लागतमा ५० लाख लिटरका दुई वटा डिजेलका दुई वटा ट्याङ्की तयार गरिएको निगमले जनाएको छ । इन्धन भण्डारण स्थलसँगै फायर फाइटिङका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्क पनि निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । हाल एक सातालाई मात्र डिजेलको भण्डारण रहेको थियो । पोखरामा डिपोबाट सामान्य अवस्थामा दैनिक डिजेल दैनिक २८० किलोलिटर, पेट्रोल १२० किलोलिटर बिक्री हुन्छ । निर्माणको काम समानान्तर, रेलिगियर र भारत ट्याङ्कले गरेका हुन् ।

    पोखरा विमानस्थलमा ३६ सय किलोलिटरको भण्डारण गृह  

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार छ सय किलोलिटर क्षमताको हवाई इन्धनको डिपो निर्माण गरिने भएको छ । पोखरामा उडान भर्ने विमानका लागि हवाई इन्धनको आपूर्ति सहज बनाउन नयाँ १२ सय किलोलिटर क्षमताका तीन वटा डिपो निर्माण गर्न लागिएको हो । हाल न्यून क्षमताको भण्डारण रहेकाले आपूर्ति व्यवस्था सहज बनाउन भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । मूल्य अभिवृद्धिबाहेक ६७ करोड लागतमा डिपो निर्माण हुन लागेको निगमले जनाएको छ । २४ महिनाभित्र सक्ने गरी हवाई इन्धनको डिपो निर्माण कार्य सुरु गरिएको निगमले जनाएको छ । डिपो निर्माण पूरा भएपछि यस क्षेत्रमा एक महिनालाई हवाई इन्धनको माग धान्ने निगमले जनाएको छ ।  

    हाल २८० किलोलिटर क्षमताको हवाई इन्धन भण्डारण गृह रहेको छ । प्रतिदिन २० देखि ३० किलोलिटर हवाई इन्धन वितरण हुने निगमले जनाएको छ । डिपो निर्माणको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्याङ्क जेभीले पाएको छ । 


    तेस्रो आँखा