• ट्रेण्डिङ्ग :
सार्वजनिक ऋण २३ खर्ब बढी, प्रतिव्यक्ति ऋण ७९ हजार दुई सय

सार्वजनिक ऋण २३ खर्ब बढी, प्रतिव्यक्ति ऋण ७९ हजार दुई सय


  • 7.0K
    SHARES
    • आश्विन १२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 10.7K Views

    सार्वजनिक ऋण २३ खर्ब बढी, प्रतिव्यक्ति ऋण ७९ हजार दुई सय

    काठमाडौं, १२ असोज । नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो ।

    images

    ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० सकिँदासम्म रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर थियो । चालु आर्थिक वर्षको शुरुआती दुई महिनामा मात्रै रू १० अर्ब ५१ करोड बराबर ऋण थपिएको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा कुल राष्ट्रिय ऋण दायित्व करिब ४३ प्रतिशत बराबर पुगेको छ ।

    अहिले नेपालको जिडिपी आकार रू ५३ खर्ब ८१ अर्ब ३३ करोड बराबर रहेको छ । जिडिपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पूँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्न सक्ने भन्दै सार्वजनिक ऋण बढेकामा आलोचना हुने गरेको छ।

    त्यस्तै, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय एक बराबर पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार अहिले नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ।

    यसरी, कुल सार्वजनिक ऋणलाई प्रतिव्यक्ति भाग लगाउँदा रू ७९ हजारभन्दा बढी ऋण पर्न आउने देखिएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको नेपाल सरकारको ऋणको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७९/८० मा मात्र रू दुई खर्ब ८६ अर्ब पाँच करोड ६० लाख बराबर ऋण थपिएको छ।

    अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालको कुल सार्वजनिक ऋण रू २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर थियो । पछिल्लो एक दशकमा सार्वजनिक ऋण चार गुणाले बढेको देखिन्छ।


    तेस्रो आँखा