• ट्रेण्डिङ्ग :
व्यवस्थित बन्दै राहदानी विभाग

व्यवस्थित बन्दै राहदानी विभाग


  • 2.8K
    SHARES
    • पौष ९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.4K Views

    व्यवस्थित बन्दै राहदानी विभाग

    काठमाडौं ९ पुस / रोजगार अनुमति प्रणाली शाखा (ईपीएस) ले कोरियन भाषा परीक्षाका लागि आवेदन खोलेसँगै त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवा लिन आउनेको संख्या यो वर्ष पनि यस अघिका वर्षहरूमा जस्तै बाक्लो थियो । तर सामान्य समयको भन्दा दोब्बरले सेवाग्राहीहरू राहदानीका लागि पुगे पनि सबैलाई सेवा उपलब्ध गराएको विभागको दावी छ ।

    images

    विभागले आफ्नो सेवा प्रक्रियामा गरेको सुधारसँगै भीडभाड बढी हुने समयलाई मध्यनजर गरेर पूर्वतयारी समेत गरेका कारण सेवाग्राहीलाई सहज भएको राहदानी विभागका महानिर्देशक लक्षुमण खनाल बताउँछन् । यसपटक ईपीएस शाखाबाट आवेदन खुलेको सूचना प्राप्त भएसँगै पूर्वतयारी गरेका कारण नियमित अवस्थामा जस्तै सेवा दिन सफल भएको उनले बताए ।

    ‘कोरियन भाषा परीक्षाको आवेदन खुलेसँगै नियमित अवस्थामा जस्तै सेवा प्रवाह कसरी गर्ने भनेर तयारी थालेका थियौँ । जसले आवेदन खुलेको १५ दिनसम्म त्यसअघिको भन्दा दोब्बर संख्यामा आएका सेवाग्राहीलाई पनि सामान्य अवस्थामा जस्तै सेवा दिने प्रयास भएको छ’, महानिर्देशक खनालले भने, ‘सेवाग्राहीहरू आफूले विभागमा तोकिएको समयभन्दा अगाडि नै आएर लाइनमा बस्ने हुँदा केही भीडभाड भयो । त्यसले अलिक असहज भयो, तर हामीले कर्मचारी थपेर भए पनि सेवा उपलब्ध गराउन सक्यौँ ।’

    ईपीएस भाषा परीक्षाको आवेदन खुलेसँगै विभागले कर्मचारीलाई समय थप गरेर काममा खटाएको र मन्त्रालयसँग थप जनशक्ति माग गरेकाले दैनिक काम कारवाहीमा सहज भएको उनको भनाइ छ ।

    विभागमा राहदानी लिनेको भीड बढ्ने जानकारी पाएसँगै परराष्ट्रमन्त्री एनपी साउदले जनशक्ति थप्न निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनअनुसार मन्त्रालयमा रहेका केही कर्मचारीलाई ईपीएस भाषा परीक्षाको समयकै लागि भनेर १५ दिनका लागि विभागमा खटाइएको थियो ।

    अहिले सामान्य समयमा दैनिक सरदर १ हजार ५ सयदेखि १ हजार ८ सयसम्म सेवाग्राही विभागमा आवेदन दिन पुग्छन् । त्यो संख्या ईपीएसको कोरियन भाषा परीक्षाको आवेदन खुल्ने सूचना सार्वजनिक भएसँगै दोब्बरले बढेको विभागका निर्देशक रमेशकुमार चर्माकारले जानकारी दिए ।

    ‘सामान्य समयमा हामीले दैनिक १५ सय आवेदन लिने भनेका छौँ । त्यो संख्या बढेर कहिलेकाहीँ १८ सयसम्म पुग्ने गरेको छ’, निर्देशक चर्माकारले भने, ‘डीभी खुल्दा वा ईपीएसको भाषा परीक्षा खुल्दा त्यो संख्या ह्वात्तै बढ्ने गरेको छ । यसपटक पनि दैनिक आवेदन दिनेको संख्या करिब तीन हजारसम्म पुगेको देखिन्छ ।’

    चर्माकारका अनुसार विभागले यसपटक दू्रत सेवाअन्तर्गत दैनिक सरदर २८ सयलाई सेवा उपलब्ध गराएको छ । जसका कारण सामान्य समयको भन्दा मानिसहरूको भीड बढेसँगै तोकेको भन्दा बढी संख्यामा सेवा पनि उपलब्ध गराइरहेको दाबी विभागको छ ।

    यसअघि यस्तो विशेष परिस्थितिमा राहदानी विभागमा व्यापक भिडभाड देखिने गरेको थियो । पछिल्लो समय विभागले राहदानीका लागि आवेदन फारम संकलनलाई विस्तार गरेसँगै सेवाग्राहीको चाप पनि घटेको छ ।


    तेस्रो आँखा