घोराही, २ माघ । दाङ चेम्बर अफ कमर्शले घोराहीमा माघ १२ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो–२०८० को तयारी तीव्र पारिएको छ । चेम्बरका जिल्ला अध्यक्ष विकास अग्रवालले अहिले स्टल बुकिङ भइसकेको र महोत्सवको मञ्च ब्यवस्थापनको तयारी भइरहेको जानकारी दिए ।
उनले महोत्सवको प्रमुख अतिथिको पनि केही दिनमा टुङ्गो लाग्ने बताए । महोत्सव सफल बनाउन सबैले सहयोग गर्दै आइरहेको बताउँदै उनले स्टल सबै बनिसकेको र महोत्सवका अन्य प्राविधिक कामहरु अहिले जारी रहेको सुनाए ।
घोराही उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय दाङबाट अनुमति लिई महोत्सवको तयारी ब्यापक बनाइएको हो । महोत्सवमा उठेको रकममध्ये केही सामाजिक काममा खर्चिने अध्यक्ष अग्रवालको भनाइ छ । उनले संकलित हुने रकममध्ये खेल अभियानलाई अघि बढाउन घोराहीको खेलकुद समितिलाई र असहाय, अशक्तको सहाराको केन्द्र बनेको मानव सेवा आश्रमलाई पनि केही रकम सहयोग हुने जानकारी दिए ।
महोत्सवमा स्थानीय उत्पादनदेखि कृषिजन्य सामग्रीहरुको स्टल पनि रहने छ । सो अवसरमा एक्सपोमा स्थानीय कलाकारहरुदेखि केन्द्रका कलाकारहरुको पहिलो चरणको नाम पनि सार्वजनिक गरिएको छ ।
