काठमाडौं । खानेपानी मन्त्रालयले वर्षात् सुरु भएपछि पुन: मेलम्चीको खानेपानी बन्द गरिने जनाएको छ। खानेपानी मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले अहिले अस्थायी रूपमा मात्रै पानी ल्याएको बताएकी हुन्।
उनले भनिन्,‘यो अस्थायी रूपमा ल्याइएको हो,मनसुन सुरु भएपछि पुन: बन्द गर्नुपर्ने अवस्था आउँछ।’ उनले दिगो रूपमा पानी ल्याउनका लागि विकल्पबारे अध्ययन गर्न लागिएको बताइन्।
आयोजनाको दातृ निकाय एसियाली विकास बैंक(एडिबी)ले मेलम्ची खानेपानी आयोजना विकास समितिले बनोट तथा बाढीपहिरोको जोखिमका कारण हेड वर्क्स सार्न सुझाव दिएको छ। एडिबीले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेड वर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्न सुझाव दिएको छ।
‘दिगो रूपमा मेलम्चीको पानी ल्याउन एडिबीले अध्ययन गरेर बुझाएको उक्त रिपोर्टको पनि रिभ्यु गर्न पुल्चोक इन्जिनियरिङ क्याम्पसले अध्ययन गर्न लागेको छ,छिटो नै अध्ययन हुन्छ,त्यसपछि के रिपोर्ट आउँछ,त्यहीअनुसार काम अघि बढ्छ,’उनले भनिन्।
बाढीले क्षति पुर्याएको मेलम्ची खानेपानी मर्मतपछि पुन: माघ १ गतेदेखि काठमाडौं उपत्यकामा वितरण गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका थिए। उक्त कार्यक्रममा उनले भने १२ महिना मेलम्ची खानेपानीको ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
