सुर्खेत –
चारैतिर अग्लाअग्ला लेकहरु । विचमा आँखाभरी नअटाउने महावु पाटन । पाटन नजिकैको धुम्कोमाथि शिवको पुजाआरधनाका लागि विशाल ढुगामाथि रहेको थान । सुन्दर पाटन हेर्न चाहनेहरुका लागि र धार्मीक आस्थावालहरु दुवै पर्यटकहरुको आर्कषण केन्द्र रहेको सुन्दर महावुमा एक पटक पुग्नै पर्ने ठाँउ हो । उकाले चढेर महावु पाटन पुगेपछि एकछिन त सुन्दताले मननै स्तब्ध पार्छ । आहा क्या राम्रो महावु । सवैको मुखबाट पहिलो शब्द यस्तै आउने गर्दछ । अहिले महावुसम्म गाडी पुगेपछि निकै सहज भएको छ ।
महावु पाटनबाट जुम्ला, कालिकोट, दैलेख, जाजरकोटका गाँउहरु सहज हेर्न सकिन्छ । मौसम सफा भएको बेला बर्दिया, टिकापुर र नेपालगंजसम्म झिलिमिलि बत्ती बलेको देख्न सकिने बुढापाकाहरु बताउँछन् । महावु जान सदरमुकामबाट हिडेर डेढ दिनको पैदल यात्रापछि पुगीन्छ । तर, अहिले गाडी पनि पुग्छ । यो पाटन साविकको कर्णाली अञ्चल छिर्ने प्रवेशद्धार पनि हो । भैसीखोर, भवानी हुँदै दैलेखको अन्तिम मानवबस्ती रहेको उनपाटा बास बसेर भोलीपल्ट विहान २ देखी ३ घण्टाको पैदलयात्रापछि पाटन पुगीन्छ ।

गाडीमा विहानै हिडेर साँझ दैलेख बजार फर्कन सकिन्छ । मनोरम दृश्य, लेकाली परिवेश, विन्भिन्न थरिका प्रजाती, भेषभुष आदि अवलोकन गर्दै पैदल यात्रा गर्नेहरु थकानको अनुभुती नै गदैनन् । पाटन हेर्न र शिवजी दर्शनका लागि पुग्ने पर्यटकहरु श्रावन, भद्रौमा बढी हुन्छन् । दशैंतिहारसम्म यहाँ विभिन्न जातका फुलहरु पाटनभरि देख्न सकिन्छ । कात्तिकपछि यहाँ हिउँ पर्छ । टम्म हिउँपर्ने बेला भारतको उत्तर प्रदेशसहित नेपालका बाँके, बदियाँ सुर्खेत लगातका स्थानबाट हिउँ खेल्ने पर्यटकहरुको भिड् लाग्ने गर्दछ । श्रावन भाद्रमा त्यहाँ पुग्नेहरु शिवको दर्शनअघि पाटनमै बगेको खोलामा नुहाएर ३० मिनेट ठाडो लेकमा पुगेर शिवलिङ्ग पुजा समेत गर्ने गर्दछन् ।
महावु पाटन उक्लिएपछि चारैतिरबाट चिसो चिसो हावाको वेगले शरिर थररर काम्न थाल्छ । माथि लेखको ठुलाठुला ढुङ्गाको काखमा रहेको शिवलिङ्गको दर्शन गरी धर्मकर्म गर्नुका साथै पाटनका सुन्दर दृश्य समेत निहाल्छन् । पाटनमा फुलेका रंगीविरगी फुलहरुले यात्रा अवधीभरको थकान नै मेटीने गर्दछ । पाटनलाई बादलले छिनभरमै ढपक्क ढाकेर अध्यारो बनाईदिन्छ त कहिले सिमसिमे पानीसगै हावाको वेगले फुलहरु हल्लिरहेका हुन्छन् । छिनछिनमा मौसम बदलिरहदाँ महावु पुग्ने प्रकृतिप्रेमी मस्त हुने गर्दछन् । लेकमै रहेको पोखरी र पोखरी आसपास ढकमक्क फुलेका फुलहरुले पर्यटकहरुलाई अझँ आनन्दीत तुल्याउँछ ।
हिउँ खेल्न वा गर्मी छल्न आन्तरिक पर्यटन हरेक मौसममा महावु पुग्ने गर्दछन् । तर, रक्षाबन्धनको दिन भने महावुमा विशेष रुपमा पुजा गरीन्छ । ७ महिना बढी हिउँ पर्ने महावु जिल्लाकै प्राकृतिक सौन्दर्यको धनी मानिन्छ । महावुबाट दैलेखका सम्पूर्ण भुभागहरु एकएक गरी छुट्याएर देख्न सकिने भएर पनि महत्वपूर्ण हेरिने गरिएको छ । दशौं हजार भक्तजनहरु साउनको जनैपूर्णिमामा घुईचो लाग्ने गर्दछ ।

सवारी साधनको प्रयोग गरे दैलेख सदरमुकामबाट ६ घण्टामा महावु लेक पुग्न सकिन्छ । महावु अर्को विशेषता साविकको कर्णाली अञ्चल प्रवेश गर्ने सवैभन्दा छोटो मार्ग समेत हो । महावु भएर कर्णाली प्रवेश गर्दा ४८ किलोमिटर छोटो पर्ने ईन्जिनियरहरुको भनाई छ । तर, सरकारले यो नाका खोल्नका लागि बजेट ब्यवस्थापन गरेको छैन् । भविष्यलाई हेर्दा कर्णाली प्रवेश गर्ने पर्यटकहरु यहाँ रोक्न विशेष योजनाहरु ल्याउनुपर्ने दैलेखका पर्यटनकर्मी रुपक थापाको भनाई छ । ‘कर्णाली जान निकै छोटो र सजिलो मार्ग भएकाले पर्यटकहरु बढ्नेछन् ।’ पर्यटककर्मी थापाले भने, प्रचारप्रसार अभावमा मनोरम दृश्यहरु भएको पाटनहरु ओझेलमा परेका छन् ।’ सरकारले महावु लेक हुँदै सडक स्तरउन्नती गरे महावु पुग्न मात्र नभई जुम्ला, मुगु निकै छोटो र सजिलो यात्रा हुने नौमुले गाउँपालिकाका अध्यक्ष भद्रे बुढामगरले बताए ।
