• ट्रेण्डिङ्ग :
राष्ट्रिय सभा निर्वाचन : गठबन्धनलाई सहज, एमालेलाई सकस 

राष्ट्रिय सभा निर्वाचन : गठबन्धनलाई सहज, एमालेलाई सकस 


  • 8.8K
    SHARES
    • पौष २९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    राष्ट्रिय सभा निर्वाचन : गठबन्धनलाई सहज, एमालेलाई सकस 

    काठमाण्डौं,२९ पुस । राष्ट्रिय सभाका २० सांसदको चार वर्षे कार्यकाल आगामी २० फागुनबाट सकिदैछ । निर्वाचन आयोगले खाली हुने २० मध्य १९ राष्ट्रियसभा सांसदको निर्वाचन माघ १२ गर्ने तयारी गरेको छ । आयोगले उमेद्वारका लागि आचारसंहितासमेत जारी गरिसकेको छ ।

    images

    राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमाले एक्लै र सत्ता गठबन्धन दलबीच तालमेल हुने भएपछि एमालेलाई यो निर्वाचन फलामको च्यूरा हुने भएको छ । एमाले अध्यक्ष केपी ओलीले नै राष्ट्रियसभाको निर्वाचन एमालेको पक्षमा नआउने बताइसकेका छन् । गठबन्धन मिलेर एमालेलाई घेराबन्दी गरेका कारण आफ्नो पक्षमा सुखद् परिणाम नआउने भन्दै पार्टी कार्यकर्ता (मतदाता)लाई एकजुट भएर पार्टीको उमेद्वारका पक्षमा मतदान गर्न ओलीले निर्देशन दिइसकेका छन् ।

    सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनमा एमाले एक्लै मैदानमा जानु परेका कारण आफ्नो पक्षमा सकारात्मक परिणाम नआउने ओलीले कार्यकर्तालाई संकेत गरिसकेका छन् । गठबन्धनका तर्फबाट भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त उम्मेदवारी दिएका छन् ।

    एमालेबाट माधव नेपालको समूह बाहिरिएर नेकपा एकीकृत समाजवादी गठन गरेसँगै एमालेले राजनीतिक जोड घटाउमा घाटा बेहोर्नु परेको नेताहरुले बताएका छन् । वर्तमान सत्ता गठबन्धन दलले भागवण्डामा उमेद्वारी दिएपछि एमालेलाई आफ्नो पुरानो सिट सुरक्षित राख्न सकस हुने निश्चित छ  । राष्ट्रियसभामा खाली हुन लागेका २० सिटमा १९ निर्वाचनबाट आउने र एकजना राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था रहेको छ । 

    सबैभन्दा ठूलो दल एमाले विभाजित भएर प्रदेश र संघमा उसको सांसद संख्या घटेपछि एमालेलाई साख जोगाउन मुस्किल परेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धन अहिले सत्तामा छ । सत्तासीन दलका नेताले राष्ट्रियसभा सदस्य निर्वाचनदेखि स्थानीय तह र संघीय निर्वाचनसम्म गठबन्धन कायमै रहने बताउँदै आएका छन् । त्यसैको प्रतिकका रुपमा राष्ट्रियसभा सदस्य निर्वाचनमासमेत उनीहरूले गठबन्धन गरेका धेरैको बुझाइ छ ।

    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यो गठबन्धनलाई आगामी निर्वाचनसम्म लौजाने सोचमा छन् भने पार्टी पदाधिकारीहरु राष्ट्रियसभाको निर्वाचनमा गठबन्ध एकैठाँउ रहने र आगामी स्थानीय, प्रदेश तथा संघिय निर्वाचन कांग्रेसले एक्लै चुनाव लड्ने आँट गर्नुपर्ने बताउदै आएका छन् ।

    को हुन मतदाता ?

    हाल राष्ट्रियसभा सदस्य निर्वाचनमा दुई हजार २५ मतदाता छन् । प्रदेश सांसद र पालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष राष्ट्रियसभाका मतदाता हुन् । प्रदेश सांसदको ४८ र पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको मतभार १८/१८ हुन्छ । प्रदेश नम्बर १ बाहेक अन्य ६ वटामा सत्ता साझेदार गठबन्धन बलियो देखिएको छ । प्रदेश १ मा नतिजा आफ्नो पक्षमा आउन सक्ने झिनो आशा बाँकी रहेको एमालेले बताएको छ । प्रदेश १ मा जम्मा मतभार नौ हजार तीन सय १२ छ । निर्वाचन आयोगले प्रकाशित गरेको नामावलीअनुसार प्रदेश १ मा ९२ जना प्रदेशसभा सदस्य, पालिकाका अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुख गरी २ सय ७२ जना मतदाता रहेका छन् । 

    प्रदेश १ मा एमालेको आशा 

    एमालेले प्रदेश १ मा खुलातर्फ झापाका देवराज घिमिरे र सुमित्रा भण्डारी तथा अल्पसंख्यकतर्फ सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ । यही अवस्थामा राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नम्बर १ आफ्नो पक्षमा आउने एमाले नेताहरुले बताएका छन् । अन्य प्रदेशमा भने एमालेको पक्षमा आशा लाग्दो परिणाम नआउनेमा उनिहरु करिव ढुक्कजस्तै छन् ।

    कसको भिडन्त को सँग ? 

    एमालेका खाली हुने आठ सिटमा सत्तागठबन्धन दलले कांग्रेसलाई तीन, जनता समाजवादी पार्टीलाई दुई, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई एक–एक सिट बाँडेर उम्मेदवारी दिएका छन् । प्रदेश १ मा गठबन्धन दलका तर्फबाट कांग्रेसले गोपालकुमार बस्नेत, नेकपा एकीकृत समाजवादीका तर्फबाट जयन्ती राईले उम्मेदवारी दिएकी छन् । 

    प्रदेश २ मा महिलातर्फ माओवादीकी उर्मिला अर्याल र एमालेकी विना साहले प्रतिस्पर्धा गर्दैछन् । यस प्रदेशमा एमालेबाट खुलातर्फ धनुषाका असर्फी भिनवार यादव उम्मेदवार छन् । यहाँ एमालेको जसपाका उम्मेदवारसँग प्रतिस्पर्धा हुनेछ। वाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट खुलामा कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीका गोमा तिमल्सिना उम्मेदवार छन् । पौडेल र तिमल्सिनासँग एमालेबाट उम्मेदवार बनेका ललितपुरका गोपाल शाक्य र सिन्धुलीकी निरकुमारी कुँवर (निरु) दर्लामीले प्रतिस्पर्धा गर्नेछन् । दर्लामी नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेकी उमेद्वार हुन् ।

    यसैगरी, गण्डकीमा गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्त र एमालेबाट लीला पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। गण्डकीमै एमालेले खुला पुरुषतर्फ कास्कीका पुण्यप्रसाद पौडेल र दलित कोटामा बाग्लुङका गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाएको छ । गण्डकीमा गठबन्धनका तर्फबाट माओवादीले खुलामा सुरेश आलेमगर र दलित कोटामा भुवन सुनुवारलाई उम्मेदवार बनाएको छ ।

    लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा र एमालेका रामदयाल गुप्ता उम्मेदवार छन्। लुम्बिनीमै गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्र लक्ष्मी गैरेसँग एमाले उम्मेदवार भारती खनालले प्रतिस्पर्धा गर्नुपर्ने छ । लुम्बिनीमा दलित कोटामा एमालेले गुल्मीका कृष्णबहादुर सुनारलाई उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । 

    त्यस्तै कर्णाली प्रदेशमा गठबन्धनको खुलातर्फबाट नेकपा एकीकृत समाजवादीका उदय बोहरा र एमालेका चूडामणि शर्मा तथा महिलातर्फ कांग्रेसकी दुर्गाकुमारी गुरुङ र एमालेकी गंगा थापा महतले उम्मेदवारी दिएका छन् । अल्पसंख्यक कोटामा गठबन्धनका तर्फबाट माओवादीका राजकुमार साहसी र एमालेका पदमबहादुर माझीबीच प्रतिस्पर्धा हुने भएको छ ।

    सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट कांग्रेसका नारायण मिश्र र एमालेका डिल्लीराज भट्ट तथा महिलातर्फ मदनकुमारी शाह (गरिमा) र एमालेकी सन्तोषकुमारी शर्माबीच प्रतिस्पर्धा हुनेछ । दलित कोटामा एमालेले बैतडीका नरेश विकलाई उम्मेदवार बनाएको छ ।

    सबै प्रदेशमा एमालेभन्दा गठबन्धन दलका उम्मेदवारहरू मतभारका हिसाबले बलिया देखिएका छन् । त्यसैले यसपटक राष्ट्रियसभामा एमालेलाई आफ्नो साख जोगाउन मुस्कील देखिन्छ । गठबन्धनमा आबद्ध प्रधानमन्त्री देउवासहित नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताले गठबन्धन तीनै तहको आगामी निर्वाचनसम्म कायम रहने बताइरहेका छन ।

    कांग्रेसका युवा नेताहरु भने चुनावी गठबन्धन गर्ने पक्षमा छैनन् । यो गठबन्धनलाई निरन्तर लौजानसके एमालेलाई पत्तासाफ बनाउने र कांग्रेसको भोट जोडेर आफूहरुले पनि केही सिट हातपर्ने दाउमा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र रहेका छन् ।