• ट्रेण्डिङ्ग :
पानीको स्रोत सुक्यो, गिट्टी कुट्नेको आम्दानी

पानीको स्रोत सुक्यो, गिट्टी कुट्नेको आम्दानी


नदीजन्य पदार्थको अबैद्य दोहन

  • 3.4K
    SHARES
    • माघ २६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.2K Views

    पानीको स्रोत सुक्यो, गिट्टी कुट्नेको आम्दानी

    सुर्खेत । कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चु बजार र आसपासका गाउँको पानीको मुख्य स्रोत छिन्चु खोला हो । छिन्चु खोलाको पानी लिफ्ट गरेर दुई वटा खानेपानी आयोजना सञ्चालनमा छन् । राज्यको करोडौं रुपैयाँ खर्च गरेर नागरिकलाई पानी खुवाउँदै आएका दुई वटा आयोजना अहिले समस्यामा परेका छन् । लिफ्ट गरिएकै ठाउँ नजिकै नदीजन्य पदार्थको ठेक्का लिएका ठेकेदारले डोजर चलाएपछि पानीको स्रोत सुक्न थालेको छ । 
    छिन्चु बजारका नागरिकहरुका लागि खानेपानी उपलब्ध गराउनका लागि छिन्चु उपभोक्ता खानेपानी संस्था छ भने खोलापारी हात्तीसुरे खानेपानी आयोजना सञ्चालित छ । छिन्चु उपत्यका खानेपानी संस्थाका अध्यक्ष धर्मराज खड्काले लिफ्ट गरिएकै ठाउँमा डोजर चलाइँदा पानीको स्रोत सुक्दै गएको बताए । 
    ‘पानी लिफ्ट गर्नका लागि मोटर राखिएको ठाउँ नजिकै नदीजन्य पदार्थ निकाल्नका लागि डोजर चलाइयो,’ उनले भने, ‘त्यसैले खानेपानीको स्रोत सुक्दै जान थाल्यो ।’ छिन्चु उपभोक्ता खानेपानी संस्थाले बजार क्षेत्रका १३ सय घरधुरीलाई खानेपानी पु¥याउँदै आएको छ । केही अघिसम्म २४ सैं घण्टा खानेपानी उपभोक्तालाई पानी पुर्‍याउँदै आएको संस्थाले अहिले चार घण्टा खानेपानीमा लोडसेडिङ गर्न थालेको छ । ‘गर्मी बढ्दै जाँदा उपभोक्तालाई खानेपानी पुर्‍याउन गाह्रो हुने देखिन्छ,’ उनले भने, ‘पानीको स्रोतको संरक्षणमा सरोकारवाला निकायले ध्यान नदिँदा समस्या भइरहेको छ ।’
    भेरीगंगा नगरपालिकाले नदीजन्य पदार्थको संकलन तथा उत्खनन्का लागि दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–८ ठेगाना रहेको हिमाल कन्ट्रक्सनलाई ६८ लाख ९६ हजारमा ठेक्का दिएको छ । नदीजन्य पदार्थको उत्खनन् तथा संकलनका लागि तयार पारिएको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा नदीजन्य पदार्थको उत्खनन् तथा संकलनमा ठूला मेसिनरी औजार प्रयोग निषेध गरिएको छ । 
    बेल्चा, गैटा, खन्टी, घनलगायतका हाते औजार प्रयोग गरेर नदीजन्य पदार्थ संकलन गर्ने उल्लेख भएपनि ठेक्का लगाइएको ठाउँ मात्रै होइन्, आइइई प्रतिवेदनले किटान नगरेका ठाउँमा पनि मेसिनरी औजारहरु प्रयोग गरेर नदीजन्य पदार्थहरुको अबैद्य उत्खनन् भइरहेको स्थानीय बताउँछन् । नदीजन्य पदार्थ उत्खनन् तथा संकलनको ठेक्का संझौता दैलेखको हिमाल कन्स्ट्रक्सनसँग भएपनि काम भने मेयर यज्ञप्रसाद ढकालका छोरा मेघराज ढकालले गरिरहेका छन् ।
    लेखपराजुलको डुंगीखोलाका सिताराम सुनार २०७१ सालमा आएको बाढीले विस्थापित भए । त्यसयता उनी मसिना नजिकै रत्न राजमार्गको किनारमा छाप्रो हालेर बसेका छन् । बाढीले थातथलो बगाएपछि रत्न राजमार्ग किनारमा बस्न थालेका उनको आम्दानी भनेकै छिन्चु खोला थियो । गिट्टी कुट्ने र खोलाबाट बालुवा संकलन गर्ने काम गर्दै आएका उनी केही वर्षदेखि ‘बेरोजगार’ छन् । ‘खोलामा नगरपालिकाले ठेक्का लगाउन थालेपछि हामीलाई ठेकेदारले पस्नै दिँदैनन्,’ उनले भने, ‘खोलामा पस्न नपाएपछि अहिले कमाउन कालापहाड जानु परिरहेको छ ।’
    मसिनामा अहिले पनि २०७१ सालका विस्थापित आठ परिवार बस्दै आएका छन् । उनीहरुसँग जमिन छैन् । स्थानीय नौसरी सुनारले खोलामा गिट्टी र बालुवा संकलन गरेर गुजारा चलाउँदै आएपनि पछिल्लो समय नगरपालिकाले ठेक्का लगाउन थालेपछि खोलामा पस्न नपाएको बताइन् । ‘दिनमा एक जनाले आठ सयदेखि एक हजार रुपैयाँसम्म कमाउँथ्यौं, त्यसैको आम्दानीले घरको चुल्हो बल्थ्यो,’ उनले भनिन, ‘अहिले खोलामा पस्न पाइन्न, त्यहीँ भएर हरेक घरका एक–दुई जना कमाउन कालापहाड गएका छन् ।’
    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेलले खोलामा जथाभावी उत्खनन् भइरहेको गुनासो आएपछि अनुगमन गरिएको बताए । ‘अनुगमन भएको छ, कति परिणाममा खोलाबाट नदीजन्य पदार्थ निकाले त्यसको जाँच गर्दैछौं,’ उनले भने, ‘क्वान्टिटी निस्किएपछि के गर्ने भन्ने निर्णय होला ।’ उनले संझौता र आइइई प्रतिवेदन अनुसार नदीजन्य पदार्थ निकाल्नुपर्नेमा त्यसो नभएको बताए । उनले अहिले खोलामा ठूला मेसिनरी औजार प्रयोग भइरहेको विषयमा आफूलाई जानकारी नभएको बताए ।
    ‘छिन्चु खोलामा त डोजर देखिएको छैन्, तरतिर चलिराखेको होला,’ उनले भने, ‘अनुगमनको रिपोर्ट आएपछि हामी कार्यपालिकामा पेश गछौं, कार्यपालिकाले जे निर्णय गर्छ हामीले त्यहीँ कार्यान्वयन गर्ने हो ।’ नगरपालिकाले गरेको अनुगमनका क्रममा झिङ्गाडादेखि छिन्चु खोला पुलसम्मको क्षेत्रमा आइइई प्रतिवेदन भन्दा धेरै नदीजन्य पदार्थ निर्माण व्यवसायीले निकालिसकेका छन् । 

    images