• ट्रेण्डिङ्ग :
विराटनगरको विकास खर्च ३४.१५ प्रतिशत, ६ महानगरमध्ये दोस्रो

विराटनगरको विकास खर्च ३४.१५ प्रतिशत, ६ महानगरमध्ये दोस्रो


  • 3.2K
    SHARES
    • फाल्गुण ८, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.9K Views

    विराटनगरको विकास खर्च ३४.१५ प्रतिशत, ६ महानगरमध्ये दोस्रो

    विराटनगर । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ वटा महानगरपालिकामध्ये विराटनगर सबैभन्दा बढी विकास खर्च गर्नेमा दोस्रो नम्बरमा परेको छ । विराटनगरले विनियोजित बजेटको ३४.१५ प्रतिशत विकास खर्च गरेको छ । सबैभन्दा बढी विकास खर्च गर्ने वीरगन्ज महानगरको ३४.३१ प्रतिशत छ ।

    images

    महानगरका १९ वटै वडामा भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको विराटनगर महानगरका मेयर नागेश कोइरालाले बताए । रानीपोखरी, मण्ठापोखरी, प्रधानमन्त्री पार्क, बाल उद्यान, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालय, विराटनगर ५ र ६ स्थित विएफएम अगाडिको सडक, विराटनगर–१३ स्थित आँखा अस्पताल अगाडिको सडक निर्माण भइरहेको छ ।

    यस्तै, विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडकसहित १ अर्ब १५ करोडभन्दा बढी विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा रहेको मेयर कोइरालाको भनाइ छ । करिब २२ करोड लागतको वीरेन्द्र सभागृह निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा पुगेको महानगरले जनाएको छ । विराट राजाको दरबार परिसरमा झण्डै १ करोड लागतमा पोखरी निर्माण भइसकेको मेयर कोइरालाले बताए ।

    वडास्तरका साना विकासका योजना पनि धमाधम भइरहेको उनको भनाइ छ । विराटनगर महानगरपालिकाले पुँजीगत अर्थात् विकास खर्च १ अर्ब २६ करोड ८० लाख विनियोजन गरेकोमध्ये ३४.१५ प्रतिशत खर्च गरेको छ । वीरगन्ज महानगरको पुँजीगत खर्च ३४.३१ प्रतिशत छ । वीरगन्जले ७९ करोड २८ लाख विनियोजित बजेटमध्ये २७ करोड २० लाख रुपैयाँ मात्रै खर्चिएको छ ।

    काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा कम विकास खर्च गरेको छ । काठमाडौँ महानगरले विकास खर्च १४.११ प्रतिशत मात्रै गर्न सकेको छ । भरतपुरले विनियोजित पुँजीगत खर्चको करिब १८ प्रतिशत मात्रै खर्च गरेको छ । ललितपुर ३३ प्रतिशत गर्दा पोखरा महानगरपालिका २५ प्रतिशतमा सीमित छ । 

    तीनै तहको सरकारले बजेट सार्वजनिक गर्दा विकास खर्च कार्यान्वयनमा जोड दिने बताउँदै आएका छन् । तर कार्यान्वयन पक्ष कमजोर हुँदा सधैँ आर्थिक वर्षको अन्त्यमा हतारमा विकासका कार्य गर्ने प्रवृत्ति रहँदै आएको छ । विराटनगर महानगरमा वडाध्यक्षहरूको समन्वय र सक्रियता, कर्मचारी प्रशासनको जिम्मेवारीलगायतका कारणले विकास खर्चमा विराटनगर अब्बल देखिएको मेयर कोइरालाको भनाइ छ । 

    विराटनगर महानगरको चालुतर्फको खर्च भने ४४.३१ प्रतिशत छ । चालु आवका लागि चालुतर्फ १ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेकोमध्ये ६८ करोड ६२ लाख खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए । अन्य महानगरभन्दा विकास खर्चमा विराटनगर अब्बल हुनुमा नियमित जसो अनुगमन, उपभोक्ताहरूको सक्रियताले पनि काम गरेको उपमेयर शिल्पा निराला कार्कीले बताइन् । 


    तेस्रो आँखा