काठमाडौं, ९ माघ । अघिल्ला दुई चरणका कोरोना संक्रमणको लहरले मुलुकको अर्थतन्त्रमा ठूलो नोक्सानी पुग्यो । अवस्था सहज बन्दै गएपछि बौरिएको अर्थतन्त्र पुनः व्यापक रुपमा फैलिएको तेस्रो चरणको कोरोनाका कारण फेरि धरासायीको बाटो उन्मुख बन्दै गएको छ। नेपालको अर्थतन्त्रमा २.५ प्रतिशतले योगदान पुर्याउदै आएको पर्यटन क्षेत्रमा झन प्रत्यक्ष असर देखा परेको छ । पर्यटन क्षेत्रको कडीको रुपमा होटल व्यवसाय थप समस्यामा परेको छ ।
पहिलो दोस्रो लहरपछि फस्टाउने क्रममा रहेको होटल व्यवसाय कोरोनाको तेस्रो लहरले झनै प्रभवित हुने देखिन्छ। २०७६ सालको चैत्र ११ गतेदेखि पहिलो पटक लकडाउन भयो । जसका कारण होटल व्यवासाय प्रत्यक्ष प्रभावित भयो।
कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण देखिन थालेपछि अहिले नेपाल स्मार्ट लकडाउनमा छ। संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने भन्दै सरकारले स्मार्ट लकडाउन गरेको हो । जसको प्रत्यक्ष असर होटल व्यवसायमा परेको छ। होटल तथा निजी क्षेत्रको व्यवसाय सञ्चालनको विषयमा सरकारसँग उचित नीति नियम नहुँदा पटक-पटक निजी अर्थात होटल व्यवसाय क्षेत्र प्रभावित हुँदै आएको छ ।
दोस्रो लहरको अन्त्यतिर गत असारपछि बाह्य तथा आन्तरिक पर्यटकले होटलहरु भरिन थालेका थिए। जसले होटल व्यवसायीलाई व्यवसाय फस्टाउने आशा जगाएको थियो। तर त्यो आशा अहिले निराशामा परिणत भएको छ। तेस्रो लहरको हल्ला सुरु भएदेखि नै आन्तरिकहरु तथा बाह्य पर्यटकहरु घटेका छन्। सरकारले स्मार्ट लकडाउन सुरु गरेपछि झन त्यो संख्या ठप्प जस्तो भएको छ ।
होटल एसोसियसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह मानिसहरुको मानसिकताले पनि होटल तथा पर्यटन व्यवसायमा असर पर्ने गरेको बताउछन्। तेस्रो आँखासँगको कुराकानीमा उनले सरकारले लिने नीतिका कारण नै सबै व्यवसायीहरु समस्यामा परेको बताए।
‘कोभिड नियन्त्रणको नाममा सरकारले लकडाउनको बहानामा व्यवसाय बन्द गर्ने काममात्र गरेको छ।’ एयरपोर्ट होटलका सिइयोसमेत रहेका शाहले भने, ‘कुनै पनि ठोस नीतिबिना नै सरकारले गर्ने बन्दका कारण हामी व्यवसायीहरु प्रभावित हुँदै आएका हौं। हामीलाई कर्मचारीसमेत पाल्न गाह्रो भइसकेको छ ।’
करिब दुई वर्षदेखि कोरोना महामारी नियन्त्रणका लागि सधै प्रयोग गरिने टुल्स लकडाउन हो । यसको प्रत्यक्ष मारमा मजदुरहरु परेका छन् । तर सरकारले हालसम्म कुनै पनि ठोस नीति ल्याउन सकेको छैन ।
पटक-पटक गरिने लकडाउनले निजि क्षेत्रले भने पाठक सिकेको छ । सरकारको मुख ताक्नुको साटो आफैले केही नीति अघि सार्याे । होटल एसोसियसन (हान)ले विभिन्न विकल्पहरु अगाडि सारे पनि अहिलेसम्म कुनै पनि काम अघि नबढेको शाहको भनाइ छ। उनले भने, ‘हामीले धेरै विकल्पहरु अगाडि सारेका छौं। ती विकल्पकाबारेमा सरकारले हुन्न नभने पनि कार्यविधि बनाएर अगाडी बढ्ने काम अझै भएको छैन। त्यसैले पनि अहिलेसम्म सबै भन्दा बढी हामी होटल व्यवसायीहरु मर्कामा परेका छौं।’
उनले कोरोनाको महामारीकाकारण होटल व्यवसाय मात्र नभएर सबै व्यवसायहरु त्यतिकै प्रभावित भएको बताए।
यस्तै, होटल माउन्ट प्रिन्सेज धुलिखेलकी संचालक तथा पर्यटन व्यवसायी जोत्सना श्रेष्ठ होटल व्यवसायमा मोनोविज्ञानले पनि धेरै अर्थ राख्ने बताउँछिन्। उनले भनिन्, ‘भदौपछि केही पाहुना आउने गर्नु भएको थियो। कोरोनाको तेस्रो लहर आउने भन्ने हल्लाले मात्र पनि त्यो प्रक्रिया रोकियो। होटल व्यवसायमा मानसिकताले पनि धेरै अर्थ राख्ने रहेछ।’
उनले दोस्रो लहर नियन्त्रणमा आयो भनेपछि पनि आन्तरिक पर्यटक मात्र धुलिखेल आएको बताइन्। ‘नोबेम्बर र डिसेम्बरमा केही पाहुना आउनु भयो। पुनः लकडाउनको हल्लाका कारण त्यो प्रक्रिय पनि रोकियो।’
काठमाडौंकै केन्द्र मानिने ठमेलका होटल संचालक पनि कोरोनाको तेस्रो लहरले प्रभाव परेको बताउँछन्। होटल अलोफ्टका संचालक सुमन पाण्डेले कोरोना महामारीले लामो पाठ सिकाएका कारण तेस्रो कारणबाट हतोत्साहित नहुँन आग्रह गरे । उनले भने, ‘भूकम्प, आधीँ जस्ता प्राकृतिक विपत्तिबाट हुने क्षेतिबाट उठ्न समय लाग्छ। हामी हतोत्साहित भएनौं र आफ्नो व्यवसायमा निरन्तर लागि परेको अवस्थामा पुनः चाडैँ रिकबर हुनेमा विश्वस्त छु।’
लिभिङ वीथ कोरोनाको रणनीति हुनुपर्छ
होटल एसोसियसन अफ नेपालका प्रथम उपाध्यक्ष शाह अब लिभिङ वीथ कोरोनाको रणनीतिमा अघि बढ्नुपर्ने बताउँछन्। कोरोनाको महामारी सकिने निश्चित नभएका कारण विश्वका अरु देशले अपनाएझै लिभिङ वीथ कोरोनाको रणनीति अपनाएर बस्नुपर्ने उनको भनाइ छ।
‘हाम्रो दुई वर्षको अभ्यासले संक्रमणबाट कसरी बच्ने भन्ने सिकेका छौं।’ उनले भने, ‘हामीले अपनाउनुपर्ने स्वास्थ्यका मापदण्डहरु पनि अपनाउने र जीवनयापनका कुराहरु पनि नरोक्नेतर्फ लाग्नुपर्छ। अहिले संसारले पनि त्यही अभ्यास गरिरहेको छ। युरोप अमेरिकातिर जस्तै वीह्याभ टु लिभ कोरोना (कोरोना सँगै जीउने) अघि बढ्नुपर्छ।’
यस्तै, व्यवसायी सुमन पाण्डे पनि पछिल्लो लहर चाँडै खतम हुने विश्वासमा छन्। उनले भने, ‘ओमिक्रोन चाँडै फैलिने, चाडैँ लक्षण देखाउने र चाँडै सञ्चो हुने भएका कारण चाँडै नै यो लहर खतम हुने मेरो विश्वास छ। हामीले २०२० र २०२१ लाई जसरी निरुत्साहित भएर बितायौँ त्यो अवस्था २०२२ माआउँदैन होला भन्ने मेरो बुझाइ छ। अर्को कुरा अब कोरोनासँगै जीउनुको पनि विकल्प पनि रहेन नि।’
कोरोना विरुद्धको खोप पनि धेरैले लगाएका कारण पनि तेस्रो लहरले नेपालमा दोस्रो झै प्रभाव नपार्ने व्यवसायीहरुको अनुमान छ। स्वास्थ्य तथा जनसंख्यामन्त्रालयकाअनुसार हालसम्म नेपालमा १८ वर्ष भन्दामाथिको एक करोड ९९ लाख २२ हजार एक सय ६४ जनसंख्याको ८१ दशमलव ५ प्रतिशतले पहिलो डोजको खोप लगाएका छन् भने ६४ दशमलब ६ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्।
