काठमाडाैं, ११ माघ । जिल्ला अस्पताल रोल्पाका चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । यति धेरै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालका स्वास्थ्यकर्मी नै संक्रमित भएपछि संक्रमण अझ बढ्ने त्रास फैलिएको छ ।
अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बिरामी जाँच्ने क्रममा कोरोनाबाट स्वास्थ्यकर्मीसमेत संक्रमित भएको हुन सक्ने बताए । ‘ज्वरो, रुघाखोकी लगायत लक्षण भएका बिरामी उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो । कोरोनाका बिरामी पनि बढेका छन्‚’ उनले भने । कोरोना संक्रमणबाट एक जना मेडिकल अधिकृतसहित प्रयोगशाला, नियमित जाँच, आपत्कालीन लगायत सेवामा खटिएका स्वास्थ्यकर्मी प्रभावित भएका हुन् ।
अस्पतालका अनुसार ज्वरो, रुघाखोकी, टाउको दुख्ने, जिउ दुख्ने, रिंगटा लाग्ने लगायत लक्षणसहितका बिरामीहरू दिनहुँ अस्पताल आइरहेका छन् । दैनिकजसो कोरोना जाँच गर्दा अस्पतालमा आएकामध्ये ७५ प्रतिशतमा संक्रमण पुष्टि भएको पाइएको छ । करिब तीन सातायता अस्पतालमा आएका १ सय ६२ जनामा मात्रै कोरोना जाँच गर्दा ९१ जनामा संक्रमण देखिएको हो । एक दिनमा जाँच जर्दा ७५ प्रतिशतमा संक्रमण पुष्टि भएको पाइएको अस्पतालले जनाएको छ ।
