काठमाडाैं,१६ माघ । स्वदेशमै फेस मास्क उत्पादन हुन थाले पनि आयात बढ्दो क्रममा छ भने निर्यात घट्दो क्रममा रहेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्ष मास्क आयात बढ्दो र निर्यात घट्दो क्रममा रहेको देखिएकाे हाे ।
गत वर्ष पहिलो ६ महिनामा १५ करोड १५ लाख ३२ हजार रुपैयाँको मास्क निर्यात भएको थियो । यस वर्ष भने २७ लाख ९१ हजार रुपैयाँ बराबरको मात्र मास्क निर्यात भएको छ । मास्क निर्यात हुने देशमा कोरोना संक्रमणको दरअनुसार निर्यातको संख्यामा घटबढ भइरहेको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।
विभिन्न देशबाट मास्क आयात भइरहेको अवस्थामा उपत्यकाभित्र रहेका उद्योगमा मास्कको माग बढिरहेको छ । बाहिरका उद्योगका मास्क भने कारखानामै थन्किएका छन् । दमकस्थित ग्रिन नेपालको कारखानामा सात लाख थानभन्दा बढी मास्क थन्किएका छन् । उचित मूल्य नपाउँदा मास्क कारखानामै राख्नुपरेको सञ्चालक नन्दलाल पाण्डे बताउँछन् । देशभर ओमिक्रोनको संक्रमण बढिरहेको अवस्थामा पनि उद्योगमा मास्कको माग भने घटिरहेको उनले जानकारी दिए ।
