काठमाडौं, २० माघ । जनगणनामा एकिन तथ्यांक नआएको भन्दै केही स्थानीय तहले आफै जनगणना थालेको भएपनि केन्द्रीय तथ्यांक विभागले भने जनगणनामा कुनै कमजोरी नभएको दाबी गरेको छ।
केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तिर्थराज चौलागाईँले तेस्रो आँखासँग कुराकानी गर्दै जनगणनामार्फत आएको तथ्यांक सही भएको दाबी गरे। ‘हामी कहाँ पनि जनसंख्या ०६८ सालको भन्दा किन कम भयो भनेर प्रश्नहरु आएका छन्,’ चौलागाईँले भने ‘जनसंख्या घटेकै कारण कम आएको हो, त्यसमा अरु कुनै कारणै छैन।’
मतदाता संख्या भन्दा जनसंख्या कम आएको प्रसंगमा उनले निर्वाचन आयोगले मतदाताहरुको नामावलीमा अद्यावधि नगर्ने गरेका कारण पनि यो अवस्था देखिएको बताए। ‘निर्वाचन आयोगले मृत्यु भैसकेकाहरुको नाम कटाएको हुँदैन, विदेशमै स्थायी बसोबास गर्नेहरुको पनि नाम कटाएको हुँदैन,’ उनले भने ‘यसर्थ पनि हाम्रो तथ्यांक र निर्वाचन आयोगको मतदाता तथ्यांकमा फरक आईहाल्छ।’
यसैगरी उनले निर्वाचन आयोगको मतदाता संख्याको अविश्सनीयताको अर्को कारण निर्वाचनमा खस्ने मत प्रतिसतलाईसमेत उदाहरणका रुपमा प्रस्तुत गरे। उनले भने ‘किन हरेक निर्वाचनमा ५० देखि ६० प्रतिसत मत मात्रै खस्छ त ?यसबाट पनि पुष्टि हुन्छ नि मतदाता सुचीमा रहेका नामहरु मृत्यु भैसक्दा पनि कटेको हुँदैन भन्ने त।’
यसैगरि उनले गणक तथा सुपरिवेक्षकहरु पुगेको बेला घरम कोही नभेटिएका कारण पनि जनसंख्यामा केही तलमाथि भएको हुन सक्ने बताए । साथै उनले बिदेशमा रहेका नेपालीहरुको तथ्यांक पनि गणनामा नसमेटिएको समेत उनको भनाइ छ। ‘घरमा जो भेटिन्छ, उसको तथ्यांक लिने हो,’ उनले भने ‘विदेशमा भएकाहरुको पनि हामीहरुले तथ्यांक लिएका हुँदैनौँ।’
