काठमाडौं, २० माघ । प्रेस काउन्सिल नेपालले कोभिड–१९ महामारीका विषयमा पुष्ट्याइँबेगर विश्व स्वास्थ्य संगठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने किसिमका समाचार सम्प्रेषण गरेकाेप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी तथ्यगत पुष्ट्याइँबेगर सामग्री तयार भई एक समाचार संस्थाबाट समेत सञ्चारमाध्यममा वितरण भएको र सोही स्रोतका आधारमा सामग्री सम्प्रेषण भएकोप्रति काउन्सिलले ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
समाचार सामग्री तयार एवं सम्प्रेषण गर्नुपूर्व सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गरी वितरण र सम्प्रेषण गर्न गराउन समाचार संस्था, सञ्चारमाध्यम र सम्बन्धित पक्षसँग काउन्सिलले अनुरोधसमेत गरेको छ।
काउन्सिलका प्रवक्ता दीपक खनालले विज्ञप्तिमा तथ्यगत पुष्ट्याइँ नभई अपुष्ट स्रोत र त्यसको परीक्षणबेगर सम्प्रेषित सामग्रीले समाजमा भ्रम फैलाउने भएकाले सञ्चारमाध्यमले सत्य, तथ्य, सन्तुलित एवं विश्वसनीय समाचार सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन्।
विज्ञप्तिमा पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७५) मा सञ्चारमाध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन/प्रसारण वा बाह्य लिंकहरू प्रकाशित गर्नुअघि सोको विश्वसनीयता र आफूले प्रकाशन गरेसरह तथ्यको जाँच गरी सम्प्रेषण गर्नुपर्दछ भन्ने व्यवस्थाका बारेमा पनि स्मरण गराइएको छ ।

