• ट्रेण्डिङ्ग :
विपन्न किसानलाई जग्गा भाडामा अनुदान

विपन्न किसानलाई जग्गा भाडामा अनुदान


  • 2.7K
    SHARES
    • जेठ १८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.1K Views

    विपन्न किसानलाई जग्गा भाडामा अनुदान

    चितवन, १८ जेठ । जिल्लाको खैरहनी नगरपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार नगरपालिकाले किसानलाई अनुदान दिने भएको हो ।
     
    नगरपालिकामा रहेका बाँझो जग्गाको उपयोग गरी कृषि उपजको उत्पादन र उत्पादकत्व बढाउन, विपन्न परिवारलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको खैरहनी नगरपालिकाका नगरप्रमुख शशीकुमार खनियाले जानकारी दिनुभयो ।
     
    नगरपालिकालाई कृषि उपजमा आत्मनिर्भर मात्रै होइन मुख्य व्यवसायको रुपमा विस्तार गर्दै विपन्न किसानको जीवनयापनलाई सहज बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । जग्गा नभएका, दुई कठ्ठाभन्दा कम जग्गा भएका र आम्दानीको अन्य स्रोत नभएका किसानको पहिचान गरी अनुदान प्रदान गरिएको नगर प्रमुख खनियाले बताउनुभयो ।
     
    नगरपालिकाबाट जग्गा भाडाका लागि अनुदान पाएका अधिकांश किसानले खाद्य बाली लगाउने छन् । अनुदान पाएका सन्तोषबहादुर परियार बिहान बेलुकाको छाक टार्न समस्या भएको बताउनुभयो । मौसमअनुसार धान, तोरीलगायतका अन्नबाली लगाउने योजना आफूले बनाएको परियारको भनाइ छ ।

    images

    दश कठ्ठा जग्गाको भाडाको लागि अनुदान पाएकी सुखिया महतोले परम्परागत खेती गरेर आम्दानीको स्रोत बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “खेती गर्ने जग्गा नभएर सबै कुरा किनेर खानुपर्ने अवस्था थियो, अब आफै फलाएर जीवन धान्ने योजना छ ।”
     
    खैरहनीमा विपन्न, मध्यम र व्यावसायिक गरी तीन प्रकारका किसान रहेको भन्दै प्रमुख खनियाले विपन्नलाई कृषि पेसामा आबद्ध गराउने, मध्यम किसानलाई उकास्ने र व्यावसायिक किसानलाई अनुदानमार्फत उत्पादन बढाउने गरी काम गरिरहेको बताउनुभयो ।
     
    नगर उपप्रमुख कविता उप्रेतीले विपन्न तथा भूमिहीन किसानलाई कृषि उत्पादनसँग जोड्न जग्गा भाडामा अनुदान कार्यक्रम ल्याइएको बताउनुभयो । यसलाई क्रमशः विस्तार गर्दै लैजाने योजना रहेको उपप्रमुख उप्रेतीको भनाइ छ ।
     
    कार्यक्रम कार्यान्वयनको लागि जम्मा आठ हेक्टर जमिनमा खेती गर्न सम्झौता भएको यसबाट वार्षिक दुई सय १० मेट्रिक टन तरकारी र १८ दशमलव पाँच मेट्रिक टन खाद्यान्न थप उत्पादन हुने नगरपालिकाले अपेक्षा गरेको नगरपालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेले जानकारी दिनुभयो ।
     
    यस कार्यक्रममा हालसम्म ३१ जना किसान दुई दशमलव पाँच  कठ्ठादेखि १० कठ्ठासम्म जग्गा भाडा अनुदानका लागि सम्झौता भएको र छनोट भएका किसानले प्रतिकठ्ठा प्रतिमहिना रु दुई हजारको दरले तीन वर्षसम्म निरन्तर अनुदान प्राप्त गर्ने नगरपालिकाले जानकारी गराएको छ ।


    तेस्रो आँखा