• ट्रेण्डिङ्ग :
आज यी प्रदेशमा भारी वर्षा हुने 

आज यी प्रदेशमा भारी वर्षा हुने 


  • 3.6K
    SHARES
    • आषाढ २३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.5K Views

    आज यी प्रदेशमा भारी वर्षा हुने 

    काठमाडौं २३ असार/हाल बागमतीसहित देशका पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    images

    महाशाखाका अनुसार आज दिउँसो सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षा पानी पर्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ । 

    साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा  धेरै ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज राति मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा  गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । सोमबार भने केही क्षेत्रमा मात्रै वर्षा हुने महाशाखाको पूर्वानुमान छ । सोमबार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मात्रै वर्षाको सम्भावना छ ।   

    तर, मंगलबार भने फेरि सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसअघि शनिबार देशभर ठूलो पानी परेको थियो । वर्षाले संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति भएको छ । 

    राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी–पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता छन् । अविरल वर्षापछिको बाढी तथा पहिरोले सात प्रदेशका प्रमुख राजमार्गसहित ५० भन्दा बढी सडक अवरुद्ध बनेका छन् । जोखिम बढेकाले केही दिन यात्रा नगर्न सुझावसहितको सूचना सर्वसाधारणका लागि सरकारले जारी गरेको छ ।


    तेस्रो आँखा