कालिकोट, २८ साउन/ अविलर वर्षाका कारण कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ । आइतबार रातिको वर्षाले कर्णाली राजमार्गको मोल्फा, पिली, चौखोलालगायतका ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण विहानैदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी पोषण थापाले जानकारी दिए ।
‘पहिरो खुलाउने प्रयास भइरहेको छ, सडक डिभिजन कार्यालयमार्फत पहिरो हटाउनका लागि स्काभेर मगाएका छौं,’ उनले भने, ‘मोल्फामा ठूलो पहिरो आएकाले सडक सुचारु हुन केही समय लाग्छ ।’
सुर्खेतबाट मुगु घर जाँदै गरेका पदम रावलले आफू विहान पाँच बजेतिर मोल्फा पुगेर पहिरोका कारण अघि बढ्न नसकेको बताए । ‘अहिलेसम्म सडक खुलाउन कुनै पहल भएको छैन्,’ उनले भने, ‘यस्तै हो भने दिनभर यहीँ बस्नुपर्ला जस्तो छ ।’ प्रहरीका अनुसार कालिकोटको खाडाचक्र नगरपालिका–६ को मोल्फा, पिली, खाडाचक्र नगरपालिका–९ को चौखोलालगायतका ठाउँमा पहिरो खसेको छ ।
