• ट्रेण्डिङ्ग :
वडाध्यक्षसँग पाँच प्रश्न (बबई गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष तिलकराम भण्डारी)

वडाध्यक्षसँग पाँच प्रश्न (बबई गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष तिलकराम भण्डारी)


  • 11.9K
    SHARES
    • भाद्र २७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 18.2K Views

    वडाध्यक्षसँग पाँच प्रश्न (बबई गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष तिलकराम भण्डारी)

    वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले बबई गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष तिलकराम भण्डारीसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष भण्डारीसँग तेस्रो आँखाकी सहसम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।  

    images

    १- जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?

    हामी संघीय लोकतान्त्रिक गणतन्त्रपछिको दोस्रो निर्वाचनको पूर्व सन्ध्यामा जाँदै गर्दा जनताका समस्याहरु सम्बोधन गर्ने र उहाँहरुले जुन अपेक्षा राख्नु भएको थियो, ति कुराहरुमा यो दुई वर्षको अवधिमा धेरै कामहरु सम्पन्न गर्न सफल भएका छौं । यहाँका जनताहरुको मुख्य माग भनेकै पञ्चकुले बेलासपुर सडकलाई कालोपत्रे गर्नुपर्ने थियो । हामी आउँदासम्म वडा नं. ७ मा एक इन्च पनि सडक कालोपत्रे भएको थिएन । हामीले दुई वर्षको अवधिमा ३ किलोमिटर सडक कालोपत्रे गर्न सफल भएका छौं । अर्को ठुलो जनघनत्व रहेको साविक पञ्चकुले गाविसको ५, ६ र ७ नं. वडालाई लक्षित गरेर खाने पानी योजनाको काम अलपत्र अवस्थामा थियो । हामी आएसंगै खानेपानी आयोजनासँगको सहकार्यमा त्यो योजनाको काम सम्पन्न गरेर अहिले सबैका घरमा धारा जडानको काम सम्पन्न भएको छ । हाम्रो वडाका केही वस्ति एकदमै विकट क्षेत्रमा पर्ने हुँदा उक्त क्षेत्रमा बाटो, बत्ति र स्थानीयहरुलाई वन्यजन्तुले सास्ती दिने कुरालाई मध्येनजर गर्दै मध्यवर्ती क्षेत्र मलैमा हामीले करिब १२ लाख बराबरको मेटजालीको काम गरेर वन्यजन्तुबाट हुने क्षतिलाई न्युनिकरण गरेका छौं । मलैमा विद्युत पुगेको थिएन, हामी आएसँगै प्रत्येकको घरमा विद्युत पुर्याउँने हिसावले पोलहरु गाडेका छौं । केही टोलबाहेकमा विद्युत बलेको अवस्था छ । विद्युत नपुगेको टोलमा पनि यहि वर्षमा विद्युत पुर्याउँने हिसावले बजेट विनियोजन गरेका छौं । हामीले अहिलेसम्म वडामा ७ वटा कल्भर्ट बनाएका छौं, जस्ले गर्दा बर्षायाममा कल्भर्ट नहुँदा गाडी चल्न नसक्ने अवस्था थियो, त्यो समस्या समाधान भएको छ ।

    हामीले पुरानो भवनमा रहेको कार्यालयलाई आधुनिक डिजाइनमा निमार्ण गर्न सफल भएका छौं । हामीले हाम्रा सेवाग्राहीहरुलाई बस्नको निमित्त राम्रो खालको कम्पाउण्ड बनाएका छौ । स्वस्थ पिउने पानीको व्यवस्थादेखि वडाको स्वास्थ्य कार्यालयहरुमा   सेवाग्राहीहरुलाई औषधि उपचारको ब्यवस्था मिलाएका छौं । औषधि अपुग हुने कुरालाई हामीले वडाबाट नै गत वर्ष १ लाख बजेट बिनियोजन गरि औषधि खरिद गरेर पनि जनताका समस्यालाई सम्बोधन गर्न सफल भएका छौं । अहिले प्रदेश सरकारबाट पहल गरेर हाम्रै जोडबलमा हाम्रो वडामा धेरै योजनाहरु सम्पन्न गर्न सफल भएका छौ । तीन वटा डिप बोरिगंको काम पुरा भएको छ । धेरै ठाउँहरुमा नयाँ नयाँ कामहरु भई रहेका छन् । हामीले हरेक कामहरु एकदमै पारदर्शी तरिकाले हेर्न लायक काम गरेका छौं । जनताबाट अहिलेसम्म हामीले भनेको काम जनप्रतिनिधिले गर्न सक्नु भएको छैन् भन्ने गुनासो आएको छैन्, त्यस कारण पनि हामी खुशी छौं ।

    २-वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइँदैन भन्ने गुनासोहरु सुनिन्छ । तपाईको वडामा यस्तो छ कि छैन ?

    यो विषयमा त म आफैले गुनासो छैन भन्नु भन्दा पनि तपाईहरु आफैले वडा सदस्यहरुलाई सोधेको भए राम्रो हुने थियो । तर पनि हामीले गर्ने सानादेखि ठुला कामहरु गर्दा पाँचै जना बसेर छलफल गरेर मात्रै त्यो काम अगाडी बढाउँछौं । हामी एक महिनामा दुई तीन पटक बैठक बसी, योजनाको बारेमा वडा कमिटीले निर्णय गर्ने, सदस्य साथीहरुबाट राय लिने, उहाँहरुका मागहरु के कस्ता छन्, उहाँहरुको मागहरु सम्बोधन हुनेगरि हामी अत्यन्तै पारदर्शी तरिकाले कामहरु गरेका छौं । वडासदस्यहरुले पनि हामीले गरेको कामको अपनत्वको भाव प्रकट गर्नुहुन्छ । जस्ले गर्दा यो काम वडाध्यक्षले गर्नुभयो, गाउँपालिका अध्यक्षले गर्नुभयो भन्दा पनि समग्र जनप्रतिनिधिहरुले गरेको काम हो भन्ने खालको जवाफ दिन उहाँहरुलाई पनि सहज भएको छ ।

    ३- वडा नं. ७ मा अत्यन्त विकट बस्तीहरु पनि छन् । वर्षायाम सुरुभएसँगै ७ महिनासम्म बाटो नै अवरुद्ध हुन्छ, यो समस्या समाधानकोलागि वडाको दिर्घकालिन योजना के छ ? 

    हामीले मलैको बाटोलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिका र वडाको स्रोतबाट बाटोको मर्मत गरि दशैंअघि नै बाटो सुचारु गर्ने गरि काम अहिले गरिरहेका छौं । यो वर्ष लुम्बिनी प्रदेशका माननिय धनबहादुर मास्कीसहित मूख्यमन्त्रीलाई भेटेर उक्त बाटो बनाउनकोलागि ५० लाख रुपैयाँ बजेटे परेको छ । मलैको बाटोलाई कालोपत्रे गर्ने आश्वासन त म दिन सक्दैन् । तर म निर्वाचित भएर आएसँगै पहिलो प्राथमिकता मलैबाटोलाई २४सैं घण्टा कसरी सञ्चालन गर्न सकिन्छ, त्यहाँका जनताहरुलाई आवत जावत गर्न कसरी सहज हुन्छ भन्ने, हिसावले नै पहिलो वर्ष गाउँपालिकाबाट ५ लाख रुपैयाँ बजेट विनियोजन गरेर त्यो बाटोको मर्मत गरेका थियौं । गत वर्ष वडाबाट ८ लाख रुपैंया बजेट बिनियोजन गरेर १ किलोमिटर बाटो लोलर, शव बेशसहितको त्यहाँ उच्च गुणस्तरको ग्राभेल गरेका छौं । त्यसैगरी नै अब त्यहाँको ८ किलोमिटर बाटोलाई चरण चरणमा ढोलपुरबाटै राम्रो बनाउँदै लैजानेकोलागि उच्च स्तरको ग्राभेल गर्ने योजना छ । गत वर्ष १ किलोमिटर बाटो ग्राभेल भयो । यो वर्ष थप दुई, तिन किलोमिटर बाटो ग्राभेल गर्ने योजना छ ।

    यस्तै गरेर दिर्घकालिन रुपमा राम्रो बनाउनकोलागि उच्च गुणस्तरको शव वेससहितको बाटो मलैसम्म पुराउने हाम्रो लक्ष्य छ, त्यही लक्ष्यका हिसावले हामी अगाडी बढेका छौं । अहिले लुम्बिनी प्रदेशबाट ५० लाख बजेट परिसकेपछि मर्मतकोलागि हामी गाउँपालिकाबाट जेसिबी लगेर तत्काल मलैसम्मको बाटो मर्मत गर्ने सोचिरहेका छौं । दशैसम्म उक्त बाटो सञ्चालन गर्ने सोचिरहेका छौं भने उता बाटो बनाउँनकोलागि टेण्डर भईसकेको छ । टेण्डर हुने वित्तिकै हामीले यो खालको काम गर्ने भनेर प्राविधिकहरुलाई सुझाव पेश गरेका छौं, त्यही हिसावले उहाँहरुले त्यसको डिजाइन स्टिमेट बनाईसक्नु भएको छ । यो वर्ष हामीले चरकमटिया मठेउरी सडक कालोपत्रे गर्न पाढे पाँचसय मिटर बाँकी छ । लुम्बिनी प्रदेशको समपुरक बजेट यो वर्ष नपरेकाले त्यो बाटो सम्पन्न गर्न चुनौति थपिएका छ । त्यसकारण हामीले वडाका साना कार्यक्रमलाई कटौती गरेर वडाको १५ लाख र गाउँपालिकाको १२ लाख गरि २७ लाख रुपैँया त्यो बाटो कालोपत्रे गर्नकालागि राखेका छौ ।

    ४-वडाको समग्र समृद्धिकालागि तपाईका भावि योजनाहरु के छन् ?

    हामीले दुईवटा कोणबाट यो वडालाई समृद्ध बनाउने तर्फ लागेका छौं । भौगोलिक विकटताको हिसावले, भौतिक पूर्वाधारको हिसावले अत्यन्तै कमजोर वडा भएको हामीले समशुस गरेका छौं, र जनताहरुले पनि अब तपाईहरुले केही गर्नुपर्छ, भन्नु भएको छ । मेरो जीवन पनि यही राजनीतिक, सामाजिक क्षेत्रमा वितेको हुँनाले मलाई एउटा खालको विश्वास गरेर जनताहरुले मत दिएर जिताउँनु भएको हो । म लगायत मेरो टिमले दुई वर्षसम्म जति पनि काम गरेका छौं, त्यो अत्यन्त दिर्घकालिन रुपमा सम्पन्न गरेका छौं । हामी आउँदा यहाँका सडकमा आरसीसी नालाहरु थिएनन् । हामीले दुई वर्षको अवधिमा ३ हजार मिटर सडक र आरसीसी नालाहरु र सिचाँई कुलोहरु निर्माण गर्ने काम गरेका छौं  । मेरो योजना भनेको यो पाँचवर्षको बीचमा ७ नं. वडाका बस्तीहरुमा २४सैं घण्टा बाटो सञ्चालन गर्नकालागि अगाडी बढ्ने र यो आर्थिक वर्ष भित्रै उज्यालो वडा घोषणा गर्नेगरी विद्युतीकरण विस्तारको काम आगाडि बढाएका छौं । त्यहीअनुसार विद्युत कार्यालयसँग हाम्रो समन्वय भएको छ । हामीले मलैका छिटपुट बस्तीहरु र साविक ८ नं. का केही टोलहरुमा विद्युत जडान गर्न सकेका छैनौं । ति सबै टोलका घरहरुमा विद्युत जडान गरेर उज्यालो वडा घोषणा गर्ने रणनीतिका साथ अगाडी बढेको अवस्था छ । अर्को तिर आयआर्जनको कार्यक्रममा हामीले दुई वर्षमा किसानहरुलाई कसरी उत्पादनमुखी बनाउन सकिन्छ भन्ने हिसावले गत वर्ष पनि बिउबिजन खरिदमा केही रुपैँया छुट्याएका थियौं । अहिले पनि हामीले वडाबाट ढाईलाख रुपैँया छुट्याएर ५० प्रतिशत अनुदानमा किसानलाई धानको बिउ वितरण गरेका थियौं । भौतिक पूर्वाधार तर्फ हामीले हाम्रा सडकहरुलाई पाँचवर्षको बीचमा कालोपत्रे त नभनौ प्रदेश र संघ सरकारसँग पहल गरेर ढोलपुरदेखि कृष्णपुरसम्म बाटो उच्च स्तरीय बनाउने काम भई रहेको छ । वडाबाट सानो बजेटले काम गर्दा नदेखिने भएकाले यो वर्षदेखि ठुला योजनालाई प्राथमिकतामा राखेर काम गर्ने योजना छ । अहिलेको अवस्थामा बाटो ग्राभेल गरेको एक, दुई महिनामै पुरानै अवस्थामा फर्किने भएकाले हामीले स्टक्चर बलियो बनाउने खालका काम गर्ने योजना बनाएका छौं र त्यही गतिमा विकास निर्माणका काम अगाडि बढेका छन् ।

    ५- वडाबाट शिक्षा, स्वास्थ्य तर्फ के कस्तो कामहरु भएका छन् नी ?

    स्वास्थ्य तर्फ आधाभूत स्वास्थ्य कार्यालय वडा कार्यालयकै परिसरमा छ । हामीले गाउँपालिकाबाट उपलब्ध हुने औषधि अथवा सशक्त अनुदानमा प्राप्त हुने औषधिबाट हाम्रा सेवाग्राहीहरुलाई औषधिको अपुग हुने भएकाले गत वर्ष एकलाख रुपैँया बिनियोजन गरेका थियौं । वडाले औषधि खरिद गरेपछि औषधिको अभाव भएन । यो वर्ष अन्य ठुला योजनामा बजेट बढी खर्च भएकाले औषधि खरिदकोलागि बजेट दिन सकेका छैनौं । तर पनि हामीले गाउँपालिकाबाट औषधि उपलब्ध गराउने कुरामा लागी परेका छौं । त्यसैगरी हामीले वडाबाट एम्बुलेन्स पनि सञ्चालनमा ल्याएका छौं । एम्बुलेन्स सञ्चालन गरेसँगै वडाबासीहरुले सहज रुपमा स्वास्थ्य सेवा पाउन सक्नु भएको छ ।

    शिक्षाको कुरा अत्यन्त जटिल छ । हामीले शिक्षा क्षेत्र सुधारकालागि वडाकार्यालय,  गाउँपालिकादेखि लिएर दरबन्धी मिलान लगायत धेरै कुराहरु अगाडी बढाएका छौं । अहिले धेरै शिक्षक साथीहरुलाई सरुवा बढुवा गर्ने कुरा भई रहेको छ । त्यसैगरी शैक्षिक गुणस्तर बृद्धि गर्नकोलागि वडाकार्यालय, पालिकामा नभई एउटा देशको नीति नै दुईवटा शिक्षा प्रणालीबाट अगाडि बढेको छ । यस्ले गर्दा अभिभावक तथा विद्यार्थीहरु नीजि विद्यालय तर्फ बढी आकर्शित हुने र सामुदायिक विद्यालयमा अभिभावकहरुले छोराछोरी भर्ना नगर्ने चुनौति छ । यसको सामना गर्न अभिभावकहरुको विश्वास जित्नकोलागि हामीले भौतिक पूर्वाधारका कुरादेखि लिएर शैक्षिक सुधारमा के गर्न सक्छौं भनेर विभिन्न खालका प्रयास जारी गरिरहेका छौं । मेरो अनुभवमा सामुदायिक विद्यालयलाई सुधार गर्न त्यती सहज छैन् । शिक्षा क्षेत्रमा सानोतिनो पहलले सुधार हुँदैन । एउटा दुरदृष्टि नीति बिना शिक्षा क्षेत्र सुध्रिने अवस्था देखिएन । तर पनि हामीले क्षिक्षा क्षेत्र सुधारकोलागि केही त गर्न पर्छ भनेर वडा शिक्षा समिति गठन गरेका छौ । शिक्षा समितिले अनुगनम गर्ने, विद्यालयमा जाने, शिक्षक, विद्यार्थीहरुको नियमितता के कस्तो छ त्यो हेर्ने काम गर्ने र सुझाव दिने काम भई रहेको छ ।  


    तेस्रो आँखा