तुलसीपुर, २८ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा ६ तरकारी बजारदेखि गाइडहर जोड्ने निर्माणाधीन मदन भण्डारी सडकको विषयलाई लिएर सोही वडाका वडाध्यक्ष दुजमान भण्डारी र वडासदस्य यमराज केसीलाई धम्की दिने व्यक्ति विरुद्ध तुलसीपुर उपमहानगरपालिकाले मुद्दा लड्ने भएको छ ।
उपमहानगरपालिकको शुक्रबार बसेको २५ औँ कार्यपालिका बैठकले धम्की दिने व्यक्तिविरुद्धको मुद्दा लड्ने निर्णय गरेको प्रवक्ता एवं वडा नं १८ का वडा अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । साथै सो बैठकले वडाध्यक्ष भण्डारीको पक्षमा एकबद्धता जनाएको छ।
बैठकले २५ वटा एजेन्डाहरूमा छलफल गरी निर्णय गरेको प्रवक्ता वलीले जानकारी दिनुभयो। यसअघि २२ वटा मात्र एजेन्डामा छलफल गरिने भनी तय भएकोमा बैठककै क्रममा आएका अन्य ३ वटा एजेन्डाहरूलाई पनि समेटि कुल २८ वटा एजेन्डाहरूमा छलफल भएको उहाँले बताउनुभयो ।
बैठकमा पाँचवटा प्रतिवेदनहरू प्रमाणीकरण भएका छन् । जसमा नवीकरणीय ऊर्जा नीति २०८१, मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति २०८१, टोल विकास संस्था सञ्चालन कार्यविधि २०८१, वित्तीय साक्षरता रणनीति २०८१–२०८६, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणको प्रतिवेदन २०८० रहेका छन् ।
यसैगरी औद्योगिक ग्राममा चिस्यान केन्द्र स्थापना गर्ने, अटोभाडा निर्धारण गर्ने, सहयोगी कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्ने सम्बन्धमा र हाईमस्ट लाईट सञ्चालन गर्ने सम्बन्धमा लगायतका विषयहरूमा छलफल गरी निर्णय गरेको छ। बैठकमा सबैभन्दा महत्त्वपूर्ण विषय प्रविधि तथा सफ्टवेयर खरिद सम्बन्धमा सौहार्दपूर्ण छलफल गरी लेखा समितिका संयोजक तथा वडा नं ९ का वडाध्यक्ष घनश्याम ढकालको संयोजकत्वमा अध्ययन प्रतिवेदन समिति गठन गरेको निर्णय गरेको प्रवक्ता वलीले बताउनुभयो।
यद्यपि यस विषयमा कार्यपालिका बैठकमा चर्काचर्की भएको विश्वस्त स्रोतले खुलाएको छ। बैठकको बीचबाटै वडाध्यक्षहरुले बैठक बहिष्कार गरेर जानु र उपमहानगरपालिकाको प्राङ्गणमा एजेण्डाको कपी च्यातेर फाल्नु बैठक सौहार्दपूर्ण नभएको बुझिन्छ । वडा नम्बर ५ र ९ का वडा अध्यक्षहरू क्रमशः वीरेन्द्र कुमार शाह र घनश्याम ढकालले दिउँसो २ बजे बैठक बहिष्कार गरी निस्किएका थिए ।
