२ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकार गठन भएको १५ दिनभन्दा बढी बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।
सत्ता साझेदार दलहरुले मन्त्रीहरूको र मन्त्रालयबारेमा आधिकार निर्णय दिन नसक्दा सरकारले पूर्णता पाउन नसकेको मुख्यामन्त्री कार्यालय स्रोतले जनाएको छ ।
सरकार गठनको विषयमा कुरा उठ्न थालेपछि नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा चार मन्त्रालय माग गर्ने निर्णय गरेको छ ।
प्रदेश संसदीय दलको बिहीबार बसेको बैठकले चार मन्त्रालय अनिवार्य पाउनुपर्ने निर्णय गरेको जानकारी संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले दिनुभयो ।
नेकपा माओवादी केन्द्र हालको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले सम्मानजनक सहभागिताका लागि चार वटा मन्त्रालय चाहिने उहाँको भनाइ छ ।
बैठकले मन्त्रालय छान्ने जिम्मा भने संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको छ । सरकारमा नयाँले मौका पाउने विष्टले बताउनुभयो ।
कर्णाली प्रदेशसभामा माओवादीका १२ सांसद छन् । सुर्खेतका ठम्मर विष्ट र विन्दमान विष्ट, जाजरकोटका गणेशप्रसाद सिंह र कृष्णा शाह, डोल्पाका वीरबहादुर शाही र रुकुम पश्चिमका रातो कामी गरी ६ जना मन्त्री बन्न बाँकी छन् ।
आलोपालो सरकार चलाउने गरी वैशाख ३ गतेको सहमतिका आधारमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री भए पनि माओवादी केन्द्र सरकारमा सहभागी भएको छैन ।
