तुलसीपुर, २२ असोज । तुलसीपुर स्थित रेडियो प्रकृति एफएम ९३.४ मेगाहर्ज १४औं वर्षमा प्रवेश गरेको छ । रेडियोको वार्षिकोत्सवको अवसरमा मंगलबार भवन शिलान्यास गरिएको छ । रेडियो प्रकृति एफएमका संस्थापक अध्यक्ष नारायण खनालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ दोघरेमा निर्माण हुने रेडियोको भवन सिलान्यास तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले गर्नु भएको थियो ।
उक्त अवसरमा प्रमुख खड्काले रेडियो अहिलेको अवस्थासम्म आइपुग्नुमा संस्थापक घनश्याम पाण्डे, बसन्त, पदम गिरीलगायत सम्पुर्ण टीमको भूमिका महत्वपुर्ण भएको बताउनुभयो । साथै उहाँले सम्पूर्ण नागरिकको बिचमा निष्पक्ष रुपमा समाचार प्रसारण गर्ने कुरामा रेडियो अग्रसर हुनुपर्ने बताउनुभयो । आजको सन्दर्भमा कार्य समितिका अध्यक्ष, पदाधिकारी, यस संस्थाका म्यानेजरहरु सबैलाई धन्यवाद, सबै मिडियाहरुको उतिकै आवश्यकता रहेको छ, उहाँले भन्नुभयो, म आफै र उपमहानगरपालिकाको मेयरको हैसियतले मेरो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक (डिआइजी) कुबेर कडायतले सञ्चार क्षेत्र सूचना प्रभाह संगसंगै समाजमा सकारात्मक सन्देश फैलाउने माध्यम भएको बताउनुभयो । समाजमा घट्ने जस्तोसुकै विकृतिहरुलाई न्युनिकरण गर्नकालागि सञ्चार क्षेत्रले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । समाजमा भएका कुसंस्कारहरुलाई हटाएर समावेसिमुलक सन्देश फेलाउने काम संचारको भएको बताउनुभयो । कार्यक्रमको सञ्चालन संगित बस्यालले गर्नु भएको थियो ।
