• ट्रेण्डिङ्ग :
दम र निमोनियाको संक्रमणबाट कसरी जोगिने ?

दम र निमोनियाको संक्रमणबाट कसरी जोगिने ?


  • 3.7K
    SHARES
    • कार्तिक ५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.7K Views

    दम र निमोनियाको संक्रमणबाट कसरी जोगिने ?

    अहिले चिसो मौसमको सुरुवात भएको छ । काठमाडौं लगायत देशका उच्च पहाडी क्षेत्रमा विस्तारै चिसो बढिरहेको छ। चिसो बढेसँगै मौसमी फ्लुबाट प्रभावित बिरामी पनि बढेका छन्।

    images

    जाडोयाममा फ्लु भाइरसका कारण प्रायः सबै उमेर समूहका मानिसमा स्वास्थ्य समस्या आउने गरेको पाइन्छ। यत्तिबेला अस्पतालमा रुघाखोकी, ज्वरो, घाँटी दुख्ने र दमको समस्या लिएर आउनेको संख्या बढेको चिकित्सकहरु बताउँछन्।

    चिसो बढ्ने बित्तिकै दीर्घकालीन दमको समस्या भएका बिरामीलाई रुघाखोकी लाग्ने, निमोनिया हुनेलगायतका समस्या बढिरहेका छन् भने मौसम परिवर्तन हुनबेला भाइरल इन्फेक्शनका बिरामी पनि धेरै आउने गरेका टिचिङ अस्पतालमा कार्यरत छातीरोग विशेषज्ञ डा. पङ्कज पन्तले बताए ।

    तेस्रोआँखासँगको कुराकानीमा डा पन्तले भने- ‘केही समय अघिसम्म डेङ्गीका बिरामीहरू धेरै आउन गरेका थिए । अहिले फाट्फुट्टरूपमा डेङ्गी देखिए पनि यसको सङ्क्रमण लगभग सकिएको छ ।’

    अहिले ओपिडीमा दैनिक आउने बिरामीहरूमा १० जनामा ५ जना चिसोका कारण रुघाखोकी लागेका हुने गरेका पन्तले बताए ।तीमध्ये कसैलाई भाइरल इन्फेक्शन हुन्छ भने कसैलाई खोकी लाग्ने, ज्वरो आउने, निमोनियाँ भएको जस्ता समस्या लिएर बिरामी आउने गरेका उनले बताए ।दीर्घकालीन दमको समस्या भएका प्रायःजसो सबै बिरामी सास फेर्न गाह्रो भयो, रुघाखोकी लाग्यो, खकार बाक्लो हुन थाल्यो भनेर आउँछन् । बाँकी लामो समयदेखि खोकी सञ्चो भएन ज्वरो आइरहेको छ भनेर पनि युवा अवस्थाका बिरामी पनि धेरै अहिले आउने गरेका डा. पन्तले बताए ।

    त्यसैगरी चिसो बढेसँगै बालबालिकाहरूमा  भाइरल इन्फेक्शन र रुघाखोकीको सङ्क्रमण बढेको शिखर अस्पताल धुलाबारी झापामा कार्यरत बालरोग विशेषज्ञ डा. दिनेश शाहले बताए । उनले भने, ‘भाइरल इन्फेक्शन एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले स्कुले बालबालिका धेरै प्रभावित हुने गरेका छन् ।’

    अहिले दैनिकजसो २५ देखि ३० जना बिरामी आउँछन् । जसमध्ये रुघाखोकी र भाइरल इन्फेक्शनकै बिरामी धेरै हुने गरेका छन् भने निमोनियाका बिरामी पनि केही मात्रामा बढेको उनले बताए ।

    डा. पन्तका अनुसार मौसमी फ्लुबाट बच्नका लागि इन्फ्लुएञ्जा खोप अनिवार्य हुन्छ। यो खोपले भाइरसलाई नियन्त्रण गर्छ। पन्तले भने, ‘निमोकोकल भन्ने खोप छ जसले ब्याक्टेरियाबाट जोगाउँछ। इन्फ्लुएञ्जा खोप बालबालिकादेखि वृद्धवृद्धा सबैले वर्षमा एक पटक लगायौं भने मौसमी फ्लु र भाइरल इन्फेक्सनबाट जोगाउँछ।’

    दीर्घकालीन दमका बिरामीले इन्फ्लुएञ्जा सँगसँगै अर्को निमोकोकल खोप पनि लगाउनुपर्ने उनले प्रष्ट पारे। ‘हामीले बारम्बार यसबारेमा जानकारी दिने गरेका छौँ। तर धेरैले चासो दिदैनन्’,  पन्तले थपे। चिकित्सकले दुई वटै खोप लगाउन सुझाव दिए पनि निमोकोकलको तुलनामा इन्फ्लुएञ्जा अलि सस्तो भएकाले त्यो खोप धेरैले लगाउने गरेको डा. पन्तको अनुभव छ। धेरै मानिसमा यसबारे अझै सचेतना नभएको उनले बताए।

    चिसो मौसमको सुरुवातमा देखिने मौसमी फ्लुबाट बच्न चिसो खानेकुरा, अमिलो, फ्रिजमा राखिएको खानेकुरा नखान चिकित्सकले सुझाव दिएका छन्। यो मौसमी फ्लु सास फेर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा चाँडो फैलिने भएकाले सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने सुझाव चिकित्सकको छ।

    यसको उपचारको लागि छुट्टै औषधी केही पनि नभएको चिकित्सक बताउँछन्। घरमै बस्ने, आराम गर्ने, पानी प्रशस्त मात्रामा खानु नै यसको उपचार हो। बालबालिकामा भाइरल इन्फेक्सनसँगै निमोनियाको जस्तै कोखा हान्ने, उच्च ज्वरो आउने, खोक्दा कफ निकाल्ने, तीव्र गतिमा सास फेर्ने लक्षण देखिए तुरुन्तै विशेषज्ञ चिकित्सकको परामर्शमा उपचार गराउन उनको सुझाव छ।


    तेस्रो आँखा