वासिङ्टन डिसी, ११ कात्तिक । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गर्नु भएको छ ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा अमेरिकामा रहेको अवस्थामा नेपाली राजदूतावासले प्रवासी नेपालीसँग आयोजना गरेको छलफलमा मन्त्री पौडेलले मातृभूमिको विकासका निम्ति लगानीका माध्यमबाट सघाउन आग्रह गर्नु भएको हो।
मन्त्री पौडेलले भन्नुभयो, ‘वर्तमान सरकारको उद्देश्य जनचाहनाअनुसार विकास गर्दै समृद्धिको मार्गमा अघि बढ्नु हो, त्यहीअनुरुप काम गरिरहेका छौँ ।’ उहाँले ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानीका पर्याप्त अवसर भएकाले यहाँ आर्जन गरेको सीप, पुँजी र ज्ञानलाई नेपालमा उपयोग गर्न सुझाउनु भयो ।
साथै उहाँले लगानीकर्तालाई सरकारले प्राथमिकताका साथ सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । अर्थमन्त्रीले सहभागीका जिज्ञासाको जवाफ दिँदै नेपालमा लगानीको वातावरण र प्रतिफल प्राप्तिको सुनिश्चितता भएकाले ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अधिक पुँजी आवश्यक परेकाले गैरआवासीय नेपालीको सहयोग आवश्यक भएको उल्लेख गर्नुभयो ।
छलफलका सहभागीहरूले नेपालको कर प्रणाली, लगानीमैत्री वातावरण, कर्मचारी संयन्त्रको कार्यसम्पादन र प्रविधिबारे जिज्ञासा राख्नु भएको थियो ।
