काठमाडौं, ११ कात्तिक। नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरको ३० करोड नयाँ नोट छाप्ने भएको छ । बैंकले चुच्चे नक्सा अंकित उक्त नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मिन्टङ कर्पोरेसनले सबैभन्दा कम रकमको बिड गरेपछि टेण्डर पाएको हो।
संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो । नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्ने स्वीकृति दिएको थियो । ७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । १०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन गर्नुपर्ने भएको थियो ।
नेपाल राष्ट्र बैंक ऐन अनुसार नोट छपाइ डिजाइन नेपाल राष्ट्र बैंकले नै गर्दा आएको छ । तर, नोटको डिजाइन र साइज परिवर्तन गर्नुपर्ने भएमा नेपाल सरकारको स्वीकृत लिनुपर्ने व्यवस्था छ । सोही अनुसार नेपाल सरकार मन्त्रिपरिषद् गत वैशाखमा चुच्चे नक्सा अंकित गर्ने गरी १०० रुपैयाँ दरको नोटको डिजाइन परिवर्त गर्ने गरी स्वीकृति दिएको थियो ।
१०० दरको ३० करोड थान नोटको डिजाइन, छपाइ, सप्लाई र डेलिभरी गर्न केन्द्रीय बैंकले कम्पनीसँग आशयपत्र माग गरेको छ । ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलरमा उक्त नोट छापिने भएको छ । हालको विनियम दर अनुसार १३४ रुपैयाँ ८४ पैसा अनुसार १ अर्ब २१ करोड ३१ लाख ४६५ रुपैयाँ पर्न आउँछ । यस अनुसार १०० रुपैयाँ दरको १ एउटा नोट छाप्ने ४ रुपैयाँ ०४ पैसा लागत पर्न आउने देखिन्छ ।
