काठमाडौँ, १३ कात्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४६ दशमलव ६९ अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक १ दशमलव ७६ प्रतिशतले बढेर २६९२ दशमलव ०५ को विन्दुमा कायम भएको हो।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। यस दिन ३१९ कम्पनीको एक करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर ६८ हजार ६१४ पटक खरिद बिक्री हुँदा ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। सोमबार पाँच अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८ दशमलव ३३ अंकले वृद्धि भई ४८१ दशमलव २८ को विन्दुमा कायम भएको छ। कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा मंगलबार वृद्धि भएको छ।
मंगलबार तीन वटा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ। सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै, कर्पोरेट विकास बैंक ९ दशमलव ९८ र समाज लघुवित्तका लगानीकर्ताले ९ दशमलव १८ प्रतिशतले कमाएका छन्।
समृद्धि फाइनान्स, पिपुल्स हाइड्रोपावर सप्तकोशी विकास बैंक, जानकी फाइनान्स, सहास ऊर्जाको शेयर कारोबार उच्च भयो।
