पाल्पा, २२ कात्तिक । रामपुर नगरपालिका–६ स्थित प्याक्लुककी गङ्गा बस्यालले विसं २०७२ देखि व्यावसायिक तारकारी खेती गर्दै आउनुभएको छ । करिब १२ रोपनी क्षेत्रफलमा गरेको तरकारी खेतीबाट उहाँले वार्षिक रु सात लाख आम्दानी गर्दै आउनुभएको हो ।
आजभन्दा एक दशकअघि तरकारी खेतीबाट जीविकोपार्जन होला भन्नेमा बस्याल विश्वस्त हुन सकेका थिए । सदरमुकाम तानसेनबाट टाढा रहेको रामपुर बजार ग्रामीण सहरका रुपमा मानिन्छ । तरकारीले बजार नपाए नोक्सानी हुने चिन्ताका बीच उहाँले व्यवसाय विस्तार गर्दै जाने योजनासहित तरकारीखेतीमा लाग्नुभयो ।
अहिले तरकारीखेतीले बजार पाएपछि यसबाटै जीविकोपार्जन भइरहेको बस्यालले बताउनुभयो। वार्षिक रुपमा सबै खर्च कटाएर तरकारी बिक्रीबाट रु सात लाख आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभएको हो । उहाँ स्थानीय बजारको अवस्था र ग्राहकको माग अनुसार तरकारी लगाउने गनुन्छ। यहाँ आलु, काउली, बन्दा, गोलभेँडालगायत जातका तरकारीले राम्रो बजार पाउने भएपछि सो जातका तरकारी उत्पादनमा जोड दिने गर्नुभएको छ ।
बस्यालले हाल १२ रोपनी क्षेत्रफलमा तरकारीखेती गर्दै आउनुभएको छ । दश रोपनी जग्गा १० वर्षका लागि वार्षिक रु ५० हजार बुझाउने गरी भाँडामा लिएको बताउँदै स्थानीय बजारमा तरकारीको खपत हुन थालेपछि व्यवसाय विस्तार गरी १२ रोपनी पुर्याएको उहाँले जानकारी दिनुभयो ।
तरकारी खेतीबाट परिवारको सबै खर्च र छोराछोरीको पढाइ खर्चसमेत व्यवस्थापन हुँदै आएको बस्यालले बताउनुभयो । ठूला सहर तथा बजार पुग्ने सडक जोडिए पनि पक्की र व्यवस्थित सडक नहुँदा, रामपुर गाउँ भएकाले बजार सानो हुनसलगायत कारणले केही समस्या भने हुने उहाँको भनाइ छ ।
‘भविष्यमा यो व्यवसायले आयआर्जनको बलियो माध्यम बनाउन सकिन्छ भन्ने सोचका साथ तरकारीखेती सुरु गरेँ, तरकारीबाट सोचेजस्तै आम्दानी भइरहेको छ’, बस्यालले भन्नुभयो ‘हाम्रो परिवारको जीविका राम्रैसँग चलेको छ, यस व्यवसायबाट हामी सन्तुष्ट छौँ ।’
पहिले स्याङ्जाको वालिङ, गल्याङलगायत विभिन्न बजारमा लगेर तरकारी बिक्री गरेको स्मरण गर्दै उहाँले अहिले भने उत्पादित तरकारीले रामपुरमा नै खपत भइरहेको जानकारी दिनुभयो ।
उहाँको व्यवसायमा श्रीमती राधिका बस्यालले सघाएकी छन् । श्रीमान् श्रीमती दुवैजना तरकारी खेतीमा आबद्ध छन् । उनीहरुको यो व्यवसाय देखेर अहिले गाउँघरमा छिमेकीले पनि तरकारी लगाउन थाल्नुभएको छ । बारी हरिया तरकारीले ढाकिएका छन् । उहाँको बारीमा अहिले काउली, बन्दा, आलु, सागमुला, धनियालगायत सागसब्जी तयार हुँदैछन् ।
गत भदौमा मात्रै एक रोपनी जग्गामा लगाएको काँक्राबाट रु एक लाख आम्दानी भएपछि व्यवसायमा हौसला थपिएको राधिकाले बताउनुभयो । ‘तरकारीखेती थालेपछि वरिपरि हरियाली भएको छ । गाउँमा विस्तारै पहिचान पनि बन्दै गएको छ । अहिले बजारको समस्या छैन, व्यापारीले घरमा आएर खरिद गरेर तरकारी लैजानुहुन्छ’ उहाँले भन्नुभयो ।
बर्सेनि तरकारीका साथै बिरुवासमेत उत्पादन गर्न थालेको राधिकाको भनाइ छ । उहाँका अनुसार करिब एक रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारीका बिरुवा उत्पादन भइरहेका छन् ।
पछिल्लो समय यहाँको बजार बढ्दै गएपछि निर्वाहमुखी खेती गर्ने किसानले पनि व्यावसायिक तरिकाबाट खेती गर्न थालेका रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताउनुभएको हो । व्यावसायिक खेतीमा जोड दिने किसानलाई नगरपालिकाले खेती गर्ने प्रविधिसम्बन्धी तालिम, गोष्ठी, बिउबिजन, उपकरण तथा प्राविधिक सेवा दिँदै आएको उहाँले जानकारी दिनुभयो ।
