जुम्ला २८ कात्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशेषज्ञ जनशक्ति उत्पादन केन्द्रका रुपमा विकास गर्नु पर्ने बताउनुभयो ।
कर्णालीलाई अभाव रोग भोकसँग दाँज्ने मात्र नभई यहाँका प्राकृतिक स्रोतको उपभोगका विषयमा सोच्नु पर्ने उल्लेख गर्नु भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहका लागि जुम्ला पुग्नु भएका स्वास्थ्य मन्त्री पौडेलले भन्नुभयो,कर्णाली प्रतिष्ठान कर्णालीको मात्र होइन राष्ट्रको गौरव हो ।
यो संस्थाले कर्णालीसहित पश्चिम नेपालमा दिएको सेवा प्रशंसा योग्य छ । यो प्रतिष्ठानलाई रेफरल अस्पताल बनाउने होइन । यहाँ विशिष्टीकृत सेवा सुरु गर्नु पर्छ । तर अपेक्षाकृत विकास हुन सकेको छेैन् ।अब सरकार गम्भीर हुनुपर्छ ।
प्रतिष्ठानका सहकुलपति समेत रहनु भएका मन्त्री पौडेलले प्रथम दीक्षान्त समारोहबाट दीक्षित भएका ५८ जनाले कर्णालीमै सेवा दिनु पर्नेमा जोड दिनुभयो । अब ५८ जना मात्र नभई सयौँका सङ्ख्यामा दीक्षित हुनु पर्छ । सरकारले कर्णाली प्रतिष्ठानको विकासमा कुनै कन्जुसाई गर्न नहुनेमा उल्लेख गर्नुभयो । साथै स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले नीतिगत व्यवस्था गरिरहेको समेत बताउनुभयो ।
