काठमाडौं २ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिनु भएको हो ।
गत शुक्रवारदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम सुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । सो विषयमा उहाँले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताउनुभयो ।
तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको बताउनुभयो । हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महंगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको बताउनुभयो । अहिले क्रमिक रुपमा हवाई भाडादर पुरानै मूल्यमा आएको बताउनुभयो । सस्तो टिकट कतिको र महँगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको बताउनुभयो ।
केही कम्प्लेन भएमा क्यानको उच्चपदस्थ कर्मचारीको नम्बरसहित निर्णय सार्वजनिक गरिएको उहाँले बताउनुभयो । मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान विस्तार गर्न मन्त्रालयले योजनाबद्ध रुपमा काम अघि बढाइरहेको बताउनुभयो । उहाँले भैरहवामा अहिले ५ वटा एयरलाइन्सहरुले उडान गरिरहेको र यसलाई १० वटासम्म बनाउनेगरी काम भइरहेको बताउनुभयो । उहाँले पोखरामा उडानका गतिविधि बढाउने गरी आफू अघि बढिरहेको बताउनुभयो । आफूले निजी क्षेत्रहरुसँग पनि उडान विस्तारका लागि आवश्यक छलफल अघि बढाएको मन्त्री पाण्डेको भनाइ छ ।
लुम्बिनी विकास कोषका पदाधिकारीसँग पनि आफूले छलफल गरेको उहाँले बताउनुभयो ।
‘
