तुलसीपुर १३ मंसिर । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा रेविजविरुद्धको भ्याक्सिन अभाव भएको छ । अस्पतालमा भ्याक्सिन नभएपछि कुकुरले टोकेका बिरामीहरुले बाहिरबाट महँगो मूल्यमा भ्याक्सिन किनेर लगाउनु पर्ने बाध्यता भएको छ । तुलसीपुर १८ निवासी सवि चौधरीका छोरा सुगमलाई गत मंसिर ९ गते घरमै खेलिरहेको अवस्थामा कुकुरले टोक्यो ।
त्यसको भोलिपल्ट बालकलाई रेविज विरुद्धको भ्याक्सिन लगाउन परिवारले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएका थिए । तर अस्पतालमा भ्याक्सिन नभएपछि अन्य क्लिनिकबाट साढे ६ सय रुपैयाँमा किनेर भ्याक्सिन लगाएको चौधरीले तेस्रो आँखालाई जानकारी दिनुभयो । सरकारी अस्पतालमा रेविजविरुद्धको भ्याक्सिन नि:शुल्क रुपमा पाउँछ भन्ने सुनेको थिए, तर हामीले त यहाँ नपाएर अन्य मेडिकलबाट किनेर लगाउनु परेको छ चौधरीले भन्नुभयो ।
सरकारी अस्पतालमा कुकुरले टोकेका बिरामीहरुलाई लगाइने रेविजविरुद्धको भ्याक्सिन नि:शुल्क रुपमा पाइन्छ । राप्ती प्रादेशिक अस्पतालमा लामो समयसम्म भ्याक्सिन अभाव हुँदा बिरामीहरुले सास्ती भोग्नु परेको छ । तर अस्पतालमा गत असोज १५ गतेदेखि रेविज विरुद्धको भ्याक्सिन अभाव भएको ओपिडी एआरबी शाखाका इन्चार्ज सुनिता पोख्रेल तेस्रो आँखालाई जानकारी दिनुभयो ।
अस्पतालले रेविजविरुद्धको भ्याक्सिन मगाएको भए पनि टेकु अस्पतालबाट प्रदेशमा नआएकाले अस्पतालमा पनि भ्याक्सिन अभाव भएको उहाँले बताउनुभयो । उहाँका अनुसार पुसको पहिलो हप्तासम्म भ्याक्सिन आउँछ की भन्ने सम्भावना रहेको छ । राप्ती प्रादेशिक अस्पतालमा नयाँ र पुरानो गरेर दैनिक १५ देखि २५ जनासम्म बिरामीहरु रेविज विरुद्धको भ्याक्सिन लगाउन आउँने गरेका छन् । ती सबै बिरामीहरुले बाहिर मेडिकलबाट भ्याक्सिन ल्याउने गरेका छन् । एक जना बिरामीले दुईवटा पाखुरामा तीन पटक रेविजविरुद्धको भ्याक्सिन लगाउनु पर्छ ।
