• ट्रेण्डिङ्ग :
वडाध्यक्षसंग  पाँच प्रश्न (कुमाख गाउँपालिका वडा नं २ का वडाध्यक्ष इश्वरी शाही)

वडाध्यक्षसंग  पाँच प्रश्न (कुमाख गाउँपालिका वडा नं २ का वडाध्यक्ष इश्वरी शाही)


  • 6.8K
    SHARES
    • मंसिर १६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 10.4K Views

    वडाध्यक्षसंग  पाँच प्रश्न (कुमाख गाउँपालिका वडा नं २ का वडाध्यक्ष इश्वरी शाही)

    वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डटकमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्न सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले सल्यानको कुमाख गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष इश्वरी शाहीसँग पाँचवटा प्रश्न सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष शाहीसँग तेस्रो आँखाकी संवाददाता रुपा थापाले गरेको कुराकानीको सम्पादित अंंश ।

    images

    १-जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भए, कति काम हुन बाकी छ ?

    हामीले चुनावको समयमा जनता समक्ष गरेका बाचाहरु मध्ये करिब करिब ७० प्रतिशत काम सम्पन्न गर्न सफल भएका छौं । अब ३० प्रतिशत काम गर्न बाँकी छ । हामी निर्वाचित भएर आएसँगै वडामा आधारभुत आवश्यकताका कामहरु भइरहेका छन, यो सधै भइरहने प्रक्रिया पनि हो । भौगोलिक हिसाबले हुने अन्य भौतिक विकासका कामहरू पनि निरन्तर भइरहेका छन । हामी आएपछि विद्यालयका भवनहरु निर्माण गरेका छौं । कुनैकुनै ठाउँहरुमा स्वास्थ्य चौकीको भवनहरु पनि निर्माण भएका छन । सडक नपुगेका ठाउँहरुमा सडक पुर्याउने काम भएको छ । भने कुनै ठाउँमा सडक विस्तारको कामलाई पनि निरन्तरता दिएका छौं । त्यसका साथै खानेपानी नपुगेको ठाउँहरुमा (एक घर एक धारा) कार्यक्रम अन्तर्गत खानेपानीको पहुँच पुर्याएका छौं । सबै नागरिकलाई पायक पर्ने स्थानमा सार्वजनिक प्रतिक्षालय निर्माण गरेका छौं । अब हामीले जीर्ण भएका विद्यालयहरूलाई विस्तार गर्नु पर्ने काम बाँकी छ । हाम्रो वडामा रहेका कुनै कुनै सडकहरु बर्खाको समयमा गाडी चल्न नसक्ने अवस्था छ, उक्त बाटोलाई बाह्रै महिना गाडी चल्ने खालको बनाउने काम गर्न बाँकी छ ।  

    २-वडाको समग्र गतिविधि सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराईदैन भन्ने गुनासो सुनिन्छ । तपाईंको वडामा त्यस्तो छ कि छैन ?

    हाम्रो वडामा त्यस्तो समस्या छैन । हामी वडाका पाँच जना प्रतिनिधिहरुको निर्णयले मात्र वडाबाट हुने हरेक काम अगाडी बढाउँछौं । जुनसुकै काम गर्दा हामीहरुले वडा सदस्यको बैठक संचालन गरि वडा सदस्यको सल्लाह, सुझाव र रायअनुसार मात्र निर्णय लिने गरेका छौं । विकास निर्माणका काम, योजना छनोट, बजेट पारित, कुनै कार्यक्रम संचालन, अनुगमन/मुल्यांकन र समस्या समाधानका विषयहरुमा काम गर्दा हामी पाँचै जना जनप्रतिनिधिहरुको बैठक बसेर मात्र निर्णय लिने गरेका छौं । म वडाध्यक्ष भइसकेपछि सबै वडा सदस्यहरुलाई आआफ्नो टोलबस्तीमा भएका योजनाहरु ल्याउन लगाउँछु, र त्यसलाई आधार मानेर बजेट विनियोजन गर्ने गरेका छौं । वडाबाट  सेवा प्रवाहमा हुने कुराहरुमा पनि वडाले सेवा प्रवाह कस्तो खालको बनाउने, नागरिकलाई कसरी सेवा दिँदा सहज हुन्छ भन्ने जस्ता विषयमा पनि सदस्यहरुसँग बसेर मात्र निर्णय लिन्छौं । वडाबाट हुने हरेक गतिविधिमा सदस्यहरुसँग सहकार्य र समन्वय गरेर मात्र अगाडि बढ्ने गरेको छु । हामी वडाका पाँचै जना जनप्रतिनिधिहरु एक महिनामा न्यूनतम ३ पटक र केही समस्या भएमा आपतकालिन गरि ५ पटक सम्म बैठक बस्ने गरेका छौं ।

    ३- वडाको समग्र समृद्धिका लागि तपाईका भावि योजनाहरु के कस्ता छन ?

    वडाको समग्र विकासका लागि सबैभन्दा पहिला युवाहरुलाई स्वरोजगार गराउने हाम्रो लक्ष्य छ । हामी वडाबाट युवा लक्षित कार्यक्रम ल्याउने योजनामा छौं । हाम्रो वडा कृषिको लागि उत्तम देखिएको हुनाले किसान लक्षित कार्यक्रमहरु ल्याएर कृषकहरुलाई उत्प्रेरित गर्ने लक्ष्य छ । त्यसैगरी वडामा भएका पुर्वाधार विकासका समस्यालाई पनि समाधान गरि समृद्ध वडा निर्माण गर्ने अभियानमा छौं । 

    ४- जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीहरुको जनगुनासो कत्तिको सुन्नुहुन्छ ?

    जनताको जनगुनासो सुन्नकै लागि हामी यहाँ आएका हौं । तर सबै मान्छेका आधारभुत आवश्यकताहरु परिपूर्ति गर्न र प्रत्येक व्यक्तिका इच्छा आकांक्षा अनुसारका काम गर्न सकिदैन । हाम्रो वडाबासीले बर्षातको समयमा खोलाले खेत बगाउन थाल्यो यस्को समाधान गर्नु पर्यो भन्ने खालका मागहरु धेरै गर्नु हुन्छ । कुनै ठाउँमा बाटोहरु निर्माण गर्दा जग्गा नदिने र आफ्नो जग्गा वडाले बिगार्दियो भन्ने जस्ता गुनासो पनि आउँछन् । यी बाहेक अहिलेसम्म हाम्रो वडामा सेवा प्रवाहको सन्दर्भमा खासै जनगुनासो आएका छैनन् । तर अन्य विकासको सन्दर्भको कुराहरूमा गुनासो आउछन् । उक्त गुनासोलाई बेलाबेलामा हामीले गुनासो सुनेर कसरी समन्वय गर्न सकिन्छ र कसरी पूरा गर्ना सकिन्छ भने बारेमा वडाको तर्फबाट छलफल तथा काम गरिरहेका छौं ।

    ५- सन २०३० सम्म दिगो विकासका लक्ष्यहरु प्राप्त गरि सक्नुपर्ने समय सीमा छ । त्यसका लागि तपाईंहरुको तयारी के छ ? 

    हामीले दिगो विकासको लक्ष्य पूरा गर्नका लागि हाम्रो तर्फबाट पूर्णरुपमा लागिरहेका छौं । हामी कतिसम्म सफल हुन्छौं त्यो त हेर्न बाँकी नै छ । सेवा प्रवाहलाई झन्झटिलो नबनाई नागरिक समक्ष सरल र सहज तरिकाको सेवा दिने अभियान छौं । विकास निर्माणका कामहरूमा पनि हामी तीव्ररुपमा लागिरहेका छौं । हाम्रै कार्यकालमा ९० प्रतिशत काम पूरा गर्नुपर्छ भन्ने अभियानसहित काम गरिरहेका छौं । युवालाई बढी जोड दिई युवा लक्षित कार्यक्रम ल्याउने र युवालाई उद्यमसँग जोड्दै आर्थिक अवस्था बलियो बनाई गरिबी न्युनिकरण गर्ने अभियानमा छौं ।


    तेस्रो आँखा