• ट्रेण्डिङ्ग :
बेमौसमी काँक्राखेतीबाट तीन महिनामै डेढ लाख आम्दानी

बेमौसमी काँक्राखेतीबाट तीन महिनामै डेढ लाख आम्दानी


  • 3.1K
    SHARES
    • मंसिर १६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.8K Views

    बेमौसमी काँक्राखेतीबाट तीन महिनामै डेढ लाख आम्दानी

    कञ्चनपुर, १६ मंसिर । बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका भरत चौधरीले तीन महिनामै डेढ लाख बढी आम्दानी गर्नुभएको छ । तीन कठ्ठा जग्गामा चौधरीले काँक्राखेती गर्दै आउनु भएको छ । हालसम्म २१ क्विन्टल काँक्रा बिक्री गरेको चौधरीले बताउनुभयो । काँक्रा प्रतिकिलो ७० देखि ८० मा बिक्री हुँदै आएको छ ।

    images

    काँक्रा रोप्नेदेखि टिपेर बजारसम्म लैजाने कार्यमा चौधरी खटिँदै आउनु भएको छ । बारीमा उत्पादित काँक्रा स्थानीय झलारी, कलुवापुर र अत्तरियालगायत बजारमा बिक्री हुने गरेको छ । ‘स्थानीय व्यापारीले काँक्रा बारीबाटै खरिद गरेर लैजाने गरेका छन्’, चौधरीले भन्नुभयो, ‘व्यापारी नआएको दिन आफैँ साइकलमा राखेर काँक्रा बजारमा पुयाएर बिक्री गरिँदै आएको छ ।’ अझै बारीमा एक लाख मूल्य बढीका काँक्रा बिक्री गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

    गत वर्ष उहाँले दुई लाख मूल्यका बेमौसमी काँक्रा बिक्री गर्नुभएको थियो । पिपलाडी गाउँमा व्यावसायिक तरकारीखेतीमा धेरै किसान भए पनि बेमौसमी काँक्रा उत्पादन गर्नेमा चौधरी एक्ला किसानका रुपमा रहनु भएको छ । बेमौसमी काँक्राखेती गरेर बजार मूल्य पनि बढी पाइने र बजारमा सहजै बिक्री गर्न सकिने भएकाले यस खेतीलाई दुई वर्षदेखि निरन्तर रुपमा गर्दै आएको चौधरी बताउनुभयो ।

    भारतीय तरकारीखेती गर्ने व्यक्तिहरूबाट चौधरीले बेमौसमी तरकारीखेती गर्ने तौरतरिका सिकेको बताउनुभयो । काँक्रासँगै चौधरीले लौका, भन्टा, खुर्सानी, तितेकरेला, चिचिण्डा, धनियाँ, आलु, लसुन, काउली, बोडीलगायतको खेती गर्नुहुन्छ ।

    काँक्राखेतीबाट तीन लाख र अन्य तरकारीखेती गरी वर्षमा उनले सात लाखदेखि १० लाखसम्मको आम्दानी गर्दै आउनु भएको छ । तरकारीखेती गरी आएको आम्दानीबाट चौधरीले छोरालाई काठमाडौँमा डेरामा राखेर मेकानिकल इञ्जिनियर पढाउँदै हाउनु भएको हो । उहाँले छोरीलाई महेन्द्रनगरमा कम्प्युटर विज्ञानको पढाइ गराउँदै आउनु भएको छन ।

    ‘तरकारीखेतीबाट आएको आम्दानीमध्ये केही छोराछोरीका लागि खर्च हुन्छ’, चौधरीले भन्नुभयो, ‘बाँकी रहेको रकम घर खर्चमा सकिन्छ ।’ पिपलाडी गाउँमा तरकारीखेतीमा ५० बढी परिवार संलग्न रहेका छन् । त्यसमध्ये चौधरीलाई अधिक आम्दानी गर्ने किसानमा गणना गरिन्छ ।

    चौधरीले एक दशकअघिदेखि तरकारीखेतीमा संलग्न रहँदै आउनु भएको छ । व्यावसायिक खेतीमा संलग्न रहँदै आएका चौधरीले भने अहिलेसम्म अनुदानका कुनै पनि कार्यक्रममा समावेश हुन नपाएको गुनासो गर्नुभयो । 


    तेस्रो आँखा