काठमाडौं २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिने विषयमा कुनै कुरा नभएको बताउनु भएको छ । चार दिने चीन भ्रमण सकेर बिहिबार दिउँसो स्वदेश फर्कनु भएका प्रधानमन्त्री ओलीले सम्मेलन गरेर ऋण लिने विषयमा कुनै छलफल नभएको बताउनु भएको हो ।
यसपटक बीआरआई अन्तर्गत विभिन्न परियोजनाहरुको बारेमा छलफल भएको बताउँदै उहाँले ‘हरेक परियोजनाहरुको बारेमा छुट्टै छलफल र सम्झौता गर्ने कुरा भएको बताउनुभयो । ऋण लिएको होइन, ऋण सम्बन्धि कुनै कुरा भएको छैन् ।’ उहाँले भन्नुभयो ‘यो विषयमा धेरै पटक दोहार्याउन नपरोस् भन्ने मेरो आग्रह छ ।’
साथै यो पटकको चीन भ्रमण एकदमै राम्रो भएको उहाँले बताउनु भयो । ‘नेपाल र चीनको मित्रता प्रगाढ बनाउने कुरा भयो, हाम्रो मित्रता अरुका विरुद्धमा होइन, हाम्रै पक्षमा हो भन्ने कुरा भएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाल र चीनको मित्रताले धेरै लाभ नेपाललाई पुग्ने छ ।’
