मोरङ, २६ मंसिर / स्रोत नखुलेको ४७ लाख ४९ हजार रूपैयाँ सहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका वडा नं. ८ दर्वेशा निवासी ६५ वर्षीया ज्योतिदेवी अग्रवाल रहेको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले मंगलबार दिउँसो उनकै घरबाट नगद रकमसहित पक्राउ गरेको हो । अग्रवालले घरमा स्रोत नखुलेको नगद लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
