• ट्रेण्डिङ्ग :
वडाध्यक्षसंग पाँच प्रश्न (कुमाख गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष केवल बहादुर राना)

वडाध्यक्षसंग पाँच प्रश्न (कुमाख गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष केवल बहादुर राना)


  • 12.9K
    SHARES
    • पौष १, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 19.9K Views

    वडाध्यक्षसंग पाँच प्रश्न (कुमाख गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष केवल बहादुर राना)

    वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उदेश्यले तेस्रो आँखा डटकमले विभिन्न पालिकाहरुका वडाध्यक्षहरुसँग पाँच वटा प्रश्न सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले कुमाख गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष केवल बहादुर रानासँग पाँच प्रश्नहरु सोधेका छौँ । प्रस्तुत छ, वडाध्यक्ष रानासँग तेस्रो आँखाकी संवाददाता रुपा थापाले गरेको कुराकानीको सम्पादित अंश ।

    images

    १-जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?

    हामीले निर्वाचनको क्रममा जनता समक्षसँग गरेका बाचाहरु मध्ये प्रायः काम पुरा गरिसकेका छौँ । अब हामीले चुनाबमा गरेका बाचा मध्ये ३५ प्रतिशत काम गर्न बाँकी छ । बाँकी कामलाई पनि हामीले पुरा गर्छौ भनेर लागिरहेका छौं । हाम्रो वडाको राम्री र सेरीपाटीमा खानेपानीको धेरै समस्या थियो । हामी आएपछि उक्त ठाउँमा (एक घर एक धारा) भन्ने अभियान सहित ६० लाख बजेट विनियोजित गरेर हामीले त्यहाँका जनतालाई खानेपानीको पहुँचमा पुर्याएका छौं । साथै रागेचौर, मर्म परिगाडा र इख्रा खोलाको पानी हामीले हाम्रो वडाबाट एक घर एक धारा भन्ने अभियान सहित जनतामाझ पुर्याउनेतर्फ प्रतिबद्धता छौं ।

    त्यसका साथै हामीले सडक निर्माण कार्यलाई पनी तिव्र तरिकाले अगाडी बढाएका छौं । स्थानीय सरकार, वडा सरकार र टोलबस्तीहरुसँग समन्वय गरी हामीले हाम्रो वडामा नयाँ सडक निर्माण गरेका छौं । पहिले नै निर्माण भएका सडकहरुलाई स्तरोन्नति गरेर यातायात संचालन गर्नका लागि सहजीकरण गरेका छौं । शिक्षा क्षेत्रमा पनि हामीले हाम्रो वडाबाट गर्नुपर्ने पहल गरिरहेका छौं । हाम्रो वडामा भएको मर्म, परिगाडा भन्ने ठाउँमा प्रावि तहको स्कुल छ, जुन ठाउँका विद्यार्थीहरुलाई पढ्न जाँदा १ देखि २ घण्टाको बाटो हिड्नु पर्ने बाध्यता छ । उक्त समस्यालाई समाधान गर्न वडाको तर्फबाट सक्दो प्रयास गरिरहेका छौं ।

    हाम्रो वडा कार्यालय भएको ठाउँसम्म बर्षामा गाडि आउँदैन यो समस्यालाई समाधान गर्नका लागि हामीले हाम्रो वडाबाट सडकहरु स्तरोन्नति गरेर यहाँका जनतालाई पैदल हिडेर टाढाटाढाको यात्रा गर्नुपर्ने समस्या समाधान गर्नेतर्फ वडाले गम्भिरतापूर्वक लिएको छ । अर्को वर्षसम्म यो समस्या समाधान गर्नेतर्फ हामी लागिपरेका छौं । हामीले स्वास्थ्य क्षेत्रमा पनि वडाले सक्ने जति कामहरु गरेका छौं ।  

    २-वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराईदैन भन्ने गुनासो सुनिन्छ । तपाईको वडामा त्यस्तो छ की छैन ?

    हाम्रो वडामा यस्तो खालको समस्या छैन् । हाम्रो वडाबाट जुनसुकै काम गर्दा पनि मैले वडा सदस्यहरुलाई बसालेर उहाँको सल्लाह, सुझाव र रायअनुसार काम गर्ने गरेको छु । कुनै पनि आपतकालिन समयमा इमेरजेन्सी कुराको निर्णयहरु लिनको लागि हामीले वडा सदस्यहरुलाई बैठकमा बोलाएर निर्णय लिने गरेका छौं । मैले कुनै काम गर्ने क्रममा पनि वडा सदस्यहरुलाई उपस्थित हुने समय नभएको खण्डमा पनि फोनबाट सदस्यहरुसँग सल्लाह लिएर मात्र अगाडी बढ्ने गरेको छु । हामीले वडा सदस्यहरुको बैठक अनिर्वाय रुपमा एक पटक बस्ने गरेका छौं । आवश्यक परेको खण्डमा एक महिनामा तीनपटकसम्म पनि हामी बैठक बस्ने गरेका छौं ।

    ३-वडाको समग्र समृद्धिका लागि तपाईका भावि योजनाहरु के के छन ?

    हाम्रो वडाको सबै ठाउँमा मोटर बाटोको विकास भएको छैन् । बाटोघाटो राम्रो नहुँदा जनताहरुलाई एक ठाउँबाट अर्को ठाउँमा आवातजावत गर्न कठिनाई भएको छ । साथै वर्षाको समयमा पानीले गर्दा गाडीहरु चल्न नसक्ने समस्या छ । उक्त समस्यालाई समाधान गर्न ह्युमपाइप राख्ने, बाटोहरुमा ग्राभेल गर्ने र जालि हालेर बाटोमा पहिरो जाने समस्या समाधान गरि यात्रा सरल बनाउने योजना छ । खानेपानीतर्फ पनि हाम्रो वडाको केही ठाउँमा समस्या छ ।

    हामीले एक घर एक धारा भन्ने अभियान सबै टोलबस्तीमा पानीको मुहान नभएकोले पानी सहजरुपमा सबै टोलबस्तीहरुमा पुर्याउन सकेका छैनौं । खानेपानीको लागि उचित पहल गरेर यो समस्यालाई समाधानको लागि अगाडी बढाउने योजनामा छौं ।  स्वास्थ्य क्षेत्रमा स्वास्थ्य एकाई एकवटा थपेका छौं । दुईवटा स्वास्थ्य क्लिनिक थपेका छौं जस्मा राम्रीमा हामीले स्वास्थय चौकी टाढा भएको हुनाले गाउँघर स्वास्थ्य क्लिनिकको व्यवस्था गरेका छौं । स्वास्थ्य क्षेत्रमा हामीले स्वास्थ्य चौकी र स्वास्थ्य इकाईहरु टाढा भएको ठाउँहरुमा गाउँघर क्लिनिकलाई थप व्यवस्थापन गरि संचालन गर्ने कुरामा अगाडी बढेका छौं । शिक्षाको क्षेत्रमा पनि भौगोलिक हिसावले टाढा भएका ठाउँहरुका विद्यार्थीहरु साना बालबालिका भएकोले टाढा जाने समस्या भएको ठाउँमा एकवटा बालबिकास कक्षा थपेका छौं । अझै एक दुई वटा टोलहरुमा दुईवटा बालबिकासका केन्द्र थप्ने योजनामा छौं । शैक्षिक क्षेत्र सुधारका लागि वडाकोतर्फबाट विद्यार्थीहरु कम भएको र विद्यार्थी संख्या बढी भएको र शिक्षकहरुको दरबन्दी कम भएको ठाउँहरुमा हामीले अनुगमन गरेर त्यहाँ निजि स्रोतबाट शिक्षक थप्ने गरि कार्यापालिकाबाट कार्ययोजना तयार पारेर ल्याएका छौं । अर्को वर्षसम्म पनि यो कार्ययोजनालाई कार्यान्वयन गर्ने अभियानमा छौं ।

    ४- जनताको जनप्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीहरूको जनगुनासोहरु कतिको सुन्नुहुन्छ ?

    जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडाबासीहरुको जनगुनासोहरु सुन्दै आएका छौं । वडाध्यक्ष र प्रतिनिधि भइसकेपछि जनताले व्यक्तिगतरुपमा चाहेका कुरा पुरा गर्न सकिदैन । एउटा काम गर्दा सबै जनताको मन बुझाउन पनि सकिदैन् । जनताहरुले प्रत्यक्ष रुपमा आफ्नो टोल नजिकै विकास भइदिए हुन्थ्यो, घर घरमा सुविधाहरु आइदिए हुन्थ्यो भन्ने जस्ता कुराहरु सोच्नु भएको हुन्छ, जुन सोचलाई हामीले पुरा गर्न सक्दैनौँ । हामीले विकासका गतिविधिहरुलाई अगाडी लैजानका लागि बढी जनसंख्याहरु र बढी टोलहरुलाई कसरी समेट्न सकिन्छ भन्ने तरिकाले निर्णय गरि काम गरेका हुन्छौँ । जनताहरुले सुरुमै काम गर्दा आफुलाई फाइदा हुने काम गरेन भनेर गुनासो गर्नु स्वभाविक हो ।

    हामीले विकासका कामहरु गर्दैगर्दा कसैलाई काखा, कसैलाई पाखा गर्दैनौँ भनेका थियौं । हामीले सबै जनताहरुको आवश्यकतालाई निष्पक्ष र पुर्णरुपमा पुरा गछौं । हामीले विकासका काम गर्दा जनताहरुको पहिलो प्राथमिकता, आवश्यकता र बढी जनसंख्या भएको ठाउँमा गर्छौ । अनि सानो टोल र कम जनसंख्या भएको ठाउँमा पनि काम गर्ने जनताहरुसँग प्रतिबद्धता गरेर काम अगाडी बढाइरहेका छौं । हामीले प्रायः सबै जनतालाई समान रुपमा हेर्दै जहाँ जे कुराको आवश्यकता परेको छ, सोही कुराको अध्ययन गरि उक्त ठाउँलाई पहिलो प्राथमिकता दिएर काम गरेका छौं । जनताहरुले गुनासो गर्ने पहिलो ठाउँ भनेकै वडा सरकार हो । हामीले उहाँहरुको गुनासोहरुलाई संकलन गरेर नै काम गर्ने गरेका छौं । 

    ५-सन २०३० सम्म दिगो विकासका लक्ष्यहरु प्राप्त गरि सक्नुपर्ने समय सिमा छ । त्यसको निम्ति तपाईहरुको तयारी कस्तो छ ?

    दिगो विकासका लक्ष्य हासिल गर्नका लागि हामीले वडाको तर्फबाट सक्दो प्रयास गरिरहेका छौं । हामीले जनताहरुको सहजताको लागि काम गर्ने हो । जति कामहरु गर्छौ, ती कामहरुलाई हामीले थोरै मात्रामा काम सम्पन्न गर्ने तर लामो समयसम्म टिक्ने तरिकाले गरि रहेका छौं । तत्कालको लागि उपलब्धिहरु धेरै देखिने तर टिकाउ नहुने खालको काम गरेका छैनौं । हामीले गरेका कामहरु मध्ये बाटोको कुरा गरौं, जसमा प्रत्येक वर्ष माटो फाल्ने काम जारी छ । फेरि उक्त माटो अर्को सालमा पनि भत्किहाल्छ फेरि फाल्नु पर्ने समस्या आइपर्ने हुन्छ । त्यो भन्दा पनि हामीले बाटोहरुको योजना होस्, या खानेपानीहरुको योजनाहरुमा अलि बढी लगानी गर्ने र लामो समयसम्म टिकाउ हुने विकास निर्माणका काम गर्नुपर्छ भन्ने हाम्रो लक्ष्य छ । हामीले विकासका गतिविधिहरु गर्दा फिल्डमा नै गएर अनुगमन र मुल्यांकन गरेर मात्र काम सुरु गर्ने गरेका छौं ।

    काम सुरु गर्नु भन्दा पहिला नै उपभोक्ताहरुलाई बोलाएर कस्तो खालको काम गर्दैछौ, त्यसको बारेमा तालिम दिएर विकासका कामहरु छिटो सक्ने होइन, ढिलो होस् तर लामो समयसम्म टिकाउ हुने खालका विकास निर्माण गर्ने होस्, भन्ने कुरामा हामीले जानकारी गराउछौं । त्यसपछि निर्माण व्यवसायीहरुलाई योजनाको आधारमा काम गरे मात्र भुक्तानी पाउँनुहुन्छ भन्छौं । काम सुरु गर्ने बेला अनुगमन मुल्यांकन पनि गरेर दिगो रुपमा टिक्ने गरि विकासका गर्ने गरेका छौं । हामीले उद्यमशिलतालाई पनि अलि बढी नै जोड दिएका छौं । युवा उद्यमशिलता सम्बन्धी विभिन्न सिपमुलक कार्यक्रम संचालन गर्ने गरेका छौं । शिक्षाको क्षेत्रमा पनि हामीले गुणस्तरीय शिक्षा प्रवाह गर्ने गरि अगाडी बढेका छौं । सबै जनतालाई स्वास्थ्यमा पहुँच पुर्याउने तरिकाले काम गरिरहेका छौं ।


    तेस्रो आँखा