सुर्खेत ४ पुस । सुर्खेतमा घरभित्र निसास्सिएर आमा छोराको मृत्यु भएको छ । भने छोरीको उपचार जारी छ । जिल्लाको वीरेन्द्रनगर–४ भैरबस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमा, छोराको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मृत्यु हुनेमा ३० वर्षीया देवीसरा थापा र उहाँका ६ वर्षीय छोरा रियान थापा रहेको प्रहरीले जनाएको छ । देवीसराका ९ वर्षीया छोरी रिया थापाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । घटना बुधबार रातिको भए पनि बिहीबार बिहान अबेरसम्म घरबाट कोही ननिस्किएपछि साढे ९ बजे मात्र प्रहरीलाई स्थानीयले खबर गरेका थिए ।
‘‘घरभित्र कोइला बालेको र धुवाँमा निसास्सिएर आमा छोराको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । तीनै जनालाई अस्पताल पुर्याइएको थियो । चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरेका हुन् ।
