काठमाडौं, २० पुस । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो आएको बताउनु भएको छ। काठमाडौंमा आयोजित वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हो ।
उहाँले असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भयो भन्ने व्याप्त गुनासो आएकाले गुनासोहरु मेट्न वरिष्ठ अधिवक्ताहरूले संकल्प गर्नुपर्ने बताउनु भएको छ। उहाँले इच्छा र संकल्प लिएको खण्डमा असम्भव केही नरहेको बताउनु भएको छ।
उहाँले अधिवक्ताहरू पथप्रदर्शक हुनुपर्ने पनि बताए । उहाँले केही समय आफूले जानेका ज्ञान, क्षमता र समय असहाय, विपन्न र कमजोरका लागि छुट्याउन आग्रह गर्नुभयो । उहाँले आम नागरिकहरुबाट पाएको आशीर्वाद वरिष्ठ अधिवक्ताको उपाधि भन्दा ठूलो हुने बताउनु भएको हो।
प्रधानन्यायाधीश राउतले बदलिँदो परिवेश र समयमा सर्वोच्चको पाँचौँ पञ्चवर्षीय योजनाले ५० प्रतिशत मिलापत्र गर्ने महत्वकांक्षी उद्देश्य लिएको र वरिष्ठ अधिवक्ताहरूले मद्दत गरे उद्देश्य पूरा हुने दाबी गर्नुभएको छ ।
