काठमाडाैं,२८ फागुन । घोराही–तुल्सीपुर फोरलेन सडक खण्डका ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् । सडक निर्माणका क्रममा डेढ करोड ठगि गरेको अभियोगमा पाण्डेलाई केन्द्रीय अनुसन्धान व्युरो काठमाडौंले पक्राउ गरेको हो ।
कागेश्वरी मनोहरा ८ काँडाघारीबाट उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ । घोराही–तुल्सीपुर फोरलेन सडक खण्ड निर्माणका क्रममा प्रयोग गरिएको टिफर भाडा र त्यसमा लाग्ने इन्धनको पैसा नदिएको भन्दै पाण्डे विरुद्ध व्यवसायी गेहेन्द्र बस्नेतले जिल्ला प्रहरी कार्यालय दाङमा १ करोड ५० लाख बराबरकाे ठगिको उजुरी दिएका थिए ।
उक्त उजुरीका आधारमा पक्राउ परेका पाण्डेलाई थप अनुसन्धानका लागी दाङ पठाउने तयारी भैरहेको केन्द्रीय अनुसन्धानव्यूरो (सिआइबी) का प्रमुख डिआइजी धिरजप्रताप सिंहले तेस्रो आँखालाई बताए । डेढ करोड ठगिको अभियोगमा पक्राउ परेका अनुप पाण्डे तुल्सीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका छोरा हुन् । उनले घोराही–तुल्सीपुर फोरलेन सडकको जिम्मा लिएको वर्षै भइसक्दा समेत लथालिङ्ग अवस्थामा पुर्याएर छाडेका छन् ।
सामरिक महत्वको उक्त सडक खण्डको ठेक्का लिएर समयमै काम नगर्ने, कामदार र मेरिनरी उपकरण तथा इन्धनकाे पैसा समेत नदिई शक्तिको आडमा राज्यको रकम दोहन गरेको उनीमाथि आरोप लागेको छ ।सडकको अवस्था विजोग बनाएर सरकारी रकम सक्ने ठेकेदार पाण्डेलाई हदैसम्मको कार्बाही हुनुपर्ने स्थानीयले माग गरेका छन् ।
