काठमाडाैं,२९ फागुन । नेपाली कांग्रेसले आजदेखि १ महिने चुनावी अभियान सुरु गर्दैछ । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नाम दिइएको १ महिने अभियानको आज १ बजे ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन हुनेछ । जिल्लामा जिल्लास्तरीय उद्घाटनसभामार्फत उद्घाटन हुने १ महिने अभियानलाई केन्द्रमा सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्नेछन् ।
अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु पुगिसकेको नेपाली कांग्रेसले जनाएको छ । आज अभियानको उद्घाटन भएलगत्तै पालिका र वडाकेन्द्रीत कार्यक्रमरुले तीव्रता पाउने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले बताए । ‘यो मुख्यतः जनताको घरघरमा पुग्ने अभियान हो’, उनले भने,‘बढीभन्दा बढी कार्यक्रम वडा र टोलमा केन्द्रीत गरेका छौं । जनताका कुरा सुन्छौं, हाम्रा कुरा भन्छौं । कांग्रेसको अपरिहार्यताबारे जनतालाई बुझाउँछौं ।’ अभियानका क्रममा कांग्रेसले टोल समितिहरु गठनलाई तीव्रता दिनेछ भने आफ्नो नेतृत्वमा भएका कामहरुको प्रचार गर्नेछ ।
कांग्रेसप्रति जनताको अपेक्षा बुझ्न टोल—टोलमा अन्तरक्रिया कार्यक्रमहरु हुने बताइएको छ । त्यस्तै कांग्रेसले बैशाख ३० गते हुने स्थानीय निर्वाचन लक्षित गरेर पहिलो पटक मतदाता बनेकाहरुलाई प्रशिक्षणसमेत दिनेछ । अभियान अन्तर्गत खटिएका केन्द्रीय प्रतिनिहरु सम्बन्धित जिल्लाको सबै पालिकामा पुगेर कार्यक्रम सञ्चालन र अनुगमन गर्नेछन् । १ महिने अभियानपश्चात केन्द्रीय प्रतिनिधिहरुले केन्द्रमा प्रतिवेदन समेत बुझाउनुपर्नेछ । कांग्रेसले आगामि स्थानीय तहको निर्वाचनमा हरेक बुथमा सय युवा खटाउने घोषणा गरेको छ ।
अभियानमा अमेरिकी सहयोग विकास परियोजना एमसीसी सम्झौतापछि मुलुकको विकासमा पुग्ने फाइदाका विषयमा समेत नागरिकस्तरमा जानकारी गराउँने कार्यक्रम रहेको महतले तेस्रो आँखालाई बताए । साथै वान बुथ हन्ड्रेड युथको अवधारणा सफल बनाउन अभियान अन्तर्गत नै काम हुनेछ उनको भनाइ छ । यो अभियानले कांग्रेसबारे जनतामा रहेका भ्रमको निवारण र सत्यको उजागर हुनेमा पार्टी विश्वस्त रहेको महतले बताए ।
कांग्रेसले १ महिने अभियानका ८ घोषित उद्देश्यहरु तय गरेको छ । जसअन्तर्गत स्थानीय निर्वाचनका लागि माहोल बनाउने, कांग्रेस जिताउन अपील गर्ने, कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्ने र नेकपा नेतृत्वको अघिल्लो सरकारका गलत कामको भण्डाफोर गर्ने, एमसीसी विकास परियोजनाका बारेमा फैलाएका भ्रम चिर्ने लगायतका उद्देश्य रहेका छन् ।
गत पुसको अन्तिम साता १४ औं महाधिवेशन गरेयता कांग्रेसले संगठनविस्तार र चुनाव केन्द्रीत कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ । अघिल्ला वर्षहरुमा टोल समिति नबनाएको कांग्रेसले १४ औ महाधिवेशनपछि विधानमा भएको व्यवस्था अनुसार पार्टीको टोलसमिति निर्माण, भातृसंगठनहरु निर्माण र परिचालनको कार्यलाई समेत तिब्रता दिदै आएको छ ।
आगामी स्थानीय तहको निर्वाचनमा देशभर ७५३ मध्य ५५० भन्दा बढी स्थानीय तहमा कांग्रेसले जित्ने सुनिश्चिततका देखिएको बताएको छ । त्यसलाइ अझै बढाउन संगठनीक गतिविधिलाई व्यवस्थित र चलायमान बनाउन एक महिने अभियान चलाएको कांग्रेसले जनाएको छ । आम मतदातालाई स्वस्फूर्त र स्वतन्त्ररुपमा आफ्नो मताधिकार प्रयोग गर्ने अवस्था दिलाउनका लागी कांग्रेस सरकारले काम गरिरहेको बताइएको छ ।
