रोल्पा, २४ माघ । रोल्पामा दोस्रो औद्योगिक, घरेलु, कृषि, प्रविधि तथा पर्यटन महोत्सव लाग्ने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यमी समिति रोल्पाको आयोजनामा फाल्गुन २० देखि २९ गतेसम्म सदरमुकाम लिबाङमा महोत्सव संचालन हुने भएको छ ।
आयोजकले बिहीबार सदरमुकाम लिबाङमा पत्रकार सम्मेलन गरेर महोत्सवको बारेमा जानकारी गराउदै लोगो र प्रस्तावना–पत्र सार्वजनिक गरेको हो ।
महोत्सवमा स्थानीय श्रोतलाई सदुपयोग गरेर उत्पादन गरिएको लघु घरेलु तथा साना उद्योगहरुको उत्पादीत वस्तुहरुको दिगो बजार पहुँच स्थापित गर्ने उद्देश्यका रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ रोल्पाका अध्यक्ष मिलन डाँगीले तेस्रो आँखालाई बताउनुभयो ।
महोत्सवमा सबै प्रकारका उत्पादनमुलक उद्योग बाहेक हस्तकला, उर्जा, औधोगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टल रहने आयोजकले जनाएको छ ।
स्थानीय मौलिक कला संस्कृति, कृषि उत्पादन एंव प्रविधि, स्थानीय पर्यटकीय स्थल, महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकला सामाग्री, औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुबाट उत्पादित वस्तु लगायतका सामाग्रीको प्रदर्शनी मेलाको मुख्य आकर्षक रहने अध्यक्ष डाँगीले बताउनुभयो ।
भरत विश्वकर्मा
