काठमाडौँ, १३ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रलगायतले अवरुद्ध गरेपछि बुधबार बिहान बसेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बैठक आधा घण्टाका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभएको हो ।
यसअघि बैठकमा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा संसद् चल्न नदिने बताउनु भएको थियो। बस्नेतले सम्बोधन गरेपछि माओवादी, रास्वपा, राप्रपालगायतका सांसदहरू आसनबाट उठेका थिए।
सभामुख घिमिरेले बैठक सञ्चालनका लागि सांसदहरूलाई बस्न आग्रह गर्दा पनि विपक्षी दलले अवरुद्ध गरिरहेपछि स्थगित गरिएको हो।
यसअघि सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले शक्ति प्रयोग गरेर सरकारले घिसिङलाई पदबाट बर्खास्त गरेको निष्कर्ष निकाल्दै सडक र सदनबाट विरोध गर्ने निर्णय गरिएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो।
विधिविधानविपरीत दुई तिहाईको बलमा घिसिङलाई पदबाट हटाउने कामका साथै सरकारका अन्य क्रियाकलापविरुद्धञ समेत एक भएर आवाज उठाउने निर्णय भएको उहाँले बताउनुभयो। परियारले देशको हितका लागि उत्कृष्ट काम गर्ने कर्मचारीलाई आफूले भनेको कुरा नमान्दा सरकारले जबरजस्ती निकाल्ने कामको प्रतिकार हुने स्पष्ट पार्नुभयो।
बैठकमा माओवादी अध्यक्ष प्रचण्डले केही दिनअघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा मात्रै छलफल भएको र कुलमान घिसिङबारे छलफल नभएको जानकारी गराएका थिए।
मन्त्रिपरिषद्को सोमबारको बैठकले कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। घिसिङको बर्खास्तलाई लिएर प्रतिपक्षी नेकपा माओवादी केन्द्र लगायतले चर्को विरोध गरेका छन्। यसैगरी सत्ताधारी कांग्रेसका नेताहरूले पनि असन्तुष्टि जनाएका छन्।
