• ट्रेण्डिङ्ग :
बागमती प्रदेश : डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति

बागमती प्रदेश : डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति


  • 3.5K
    SHARES
    • बैशाख १२, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 5.4K Views

    बागमती प्रदेश : डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति

    बागमती, १२ बैशाख । बागमती प्रदेशको विभिन्न जिल्लास्थित सामुदायिक वनमा बर्सेनि हुने वन डढेलोका कारण थुप्रै नवजङ्गल तथा बिरुवा विनाश हुने गरेका छन् ।

    images

    मानवीय लापर्वाहीका कारण हुने डढेलोबाट मानवीय क्षतिसँगै वनस्पति, जीवजन्तु र जैविक विविधतामा क्षति हुने गर्दछ ।

    डगत माघदेखि चैतसम्म बागमती प्रदेशका विभिन्न जिल्लामा डढेलोका कारण करिब नौ हजार ६०० भन्दा बढी हेक्टर वनमा क्षति पुगेको प्रदेशका वन निर्देशनालयका सूचना अधिकारी टेकनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    उनका अनुसार डढेलोबाट सबैभन्दा बढी चितवनमा चार हजार २२१ हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने सबैभन्दा कम दोलखामा २३ दशमलव ५५ हेक्टर क्षेत्रफलमा नोक्सानी भएको छ ।

    रामेछापमा एक सय ५०, सिन्धुलीमा पाँच सय ९२, रसुवामा एक सय ६४ दशमलव एक, धादिङ्गमा दुई सय ९८, काभ्रेमा एक सय ८९ र नुवाकोटमा ६७ हेक्टर वन क्षेत्रमा क्षति भएको बागमती प्रदेश वन निर्देशनालयले जनाएको छ ।

    ती जिल्लाका सामुदायिक वनहरूमा लागेको डढेलोबाट करिब १५ लाखभन्दा बढी बोटबिरुवा जलेर नष्ट भएका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार डढेलोका कारण मकवानपुरको राप्तीमा एक जनाको मृत्यु भएको छ ।

    जङ्गलमा लागेको डढेला बस्तीसम्म पुग्दा रामेछापमा तीन जनाको चार वटा घर, दुई वटा गोठ, आधा दर्जन बाख्रा र ३५ वटा कुखुरा जलेर मरेका डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमाशङ्कर जयसवालले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्लामा गत वर्ष लागेको डढेलोले वनका कलिला बिरुवा नष्ट गरेको छ ।

    गाउँ बस्तीमा समूहहरू निर्माण गरेर डढेलोसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि अघिल्ला वर्षको तुलनामा गत वर्ष करिब ६० प्रतिशतले डढेलो नियन्त्रणमा आएको प्रमुख जयसवालले बताउनुभयो।

    ‘डढेलो नियन्त्रणका लागि पालिकास्तरीय समितिहरू बनाएका छौँ, सुरक्षा निकायसँग पनि निरन्तर समन्वय भइरहेको छ’, प्रमुख जयसवालले भन्नुभयो, ‘डढेलो लागे लगत्तै हामी ती समूहहरूसँगै नियन्त्रणमा जुटिहाल्छौँ, त्यसमा सुरक्षाकर्मीको पनि साथ पाइरहेका छौँ ।’ अघिल्लो वर्ष करिब एक हजार ८०० हेक्टरमा लागेको डढेलो गत वर्ष छ सय ५० हेक्टर क्षेत्रफलमा मात्र लागेको उनले जानकारी दिनुभयो ।


    तेस्रो आँखा