सप्तरी, असार २० । राजविराज नगरपालिका– १ का ५२ वर्षीया उम्दा देवी खंगको दुई बिगाहा खेती योग्य जमिन असारको तेस्रो सातासम्म बाँझो छ ।
उहाँले अहिलेसम्म पानी नपरेकाले रोपाइँ हुन नसकेको गुनासो गर्नुभयो । पानी नपरेकै कारणले गाउँका अधिकांश खेती योग्य जमिन बाँझै रहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘खेतमा एक थोपा पानी छैन । कसरी धान रोप्ने ? आकाशे पानीको भरमा हामी बस्नुपर्ने बाध्यता छ ।’’
हालसम्म पनि प्रयाप्त पानी नपर्दा सिँचाइको सुविधा भएको बाहेकका खेतीयोग्य जमिनमा रोपाइँ हुन नसक्दा सप्तरीका किसानहरू चिन्तित भएका छन् । जेठ अन्तिम सातादेखि असार अन्तिमसम्ममा जिल्लामा रोपाइँ सक्नुपर्नेमा अहिलेसम्म अधिकांश खेतमा रोपाइँ सुरू हुन नसकेको जमुनी मधेपुरा ३ का ५५ वर्षीय रामप्रसाद यादवले बताउनुभयो ।
अहिलेसम्म जिल्लामा पाँच प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । यसपालि समयमा पानी नपरकाले गत वर्षको तुल्नामा रोपाइँ र उत्पादन कम हुने संभावना बढेको केन्द्रका निमित प्रमुख किसुन देव राउते बताउनुभयो ।
सप्तरीका किसानलाई असारे धानको खेती गर्न दिन प्रतिदिन सकस हुँदै गएको छ । पानीको समस्या महँगो खेती र उत्पादन घट्दै गएपछि धानको खेती गर्न सकस हुँदै आएको स्थानीय किसानहरू बताउछन् ।
उहाँले भन्नुभयो, ‘‘खर्च धेरै लाग्छ । आफ्नो खेतीयोग्य जमिन छैन । खर्चसहित आफ्नो परिश्रम जोड्ने हो भने जग्गाधनीलाई आधा दिएर घाटै लागेपनि आफुले उत्पादन गरेको अन्न खान पाइन्छ भनेर खेती गर्दै आएकी हुँ । हामी जस्ता विपन्न किसानलाई खेती गर्न सकस छ ।’’
तराईमा अधिकांश खेती योग्य जग्गा अधियामा लगाएर गरिब विपन्नमार्फत जग्गा धनीले खेती गराउँदै आएका छन् ।
जिल्लामा कुल कृषि योग्य जग्गा ८१ हजार हेक्टर क्षेत्रफल रहेको छ । जसमध्ये ६८ हजार हेक्टर क्षेत्रफल जग्गामा खेती भइरहेको छ । जसमध्ये २३ हजार ८ सय अर्थात ३२ देखि ३४ प्रतिशत जग्गामा मात्र सिँचाइ रहेको छ ।
