सामना देवकोटा, टेक्सास
टेक्सास राज्यमा दुःखद संयोगस्वरूप दुई नेपाली युवाहरूको असामयिक निधन भएको खबरले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध तुल्याएको छ। २३ वर्षीय सुशील केसी (ह्यूस्टन) र २० वर्षीय ओपेन्द्र बोहरा (अस्टिन) को केही दिनको अन्तरालमै निधन भएको हो। दुबै घटनाले परिवारलाई गहिरो पीडा र आर्थिक संकटमा पारेको छ। ह्यूस्टन निवासी सुशील केसी, जुलाई १९ को राति सुत्न गएका थिए तर अर्को बिहान उठेनन्। जुलाई २० मा आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेका थिए। उनी २०२३ मा अमेरिका आएका थिए र परिवारको जिम्मेवारी बोकेर ह्यूस्टनमा विभिन्न काम गरिरहेका थिए। परिवारका एक मात्र छोरा सुशीलको असामयिक निधनले बुबाआमा, दुई दिदीहरू, र जीवनको अन्तिम अवस्थामा रहेकी हजुरआमालाई गहिरो पीडामा पारेको छ।

बाँफिकोट गाउँपालिका–३, नेपाने निवासी ओपेन्द्र बोहरा, अस्टिन टेक्सासमा बसोबास गर्दै आएका थिए। कामबाट घर फर्किँदै गर्दा अज्ञात गाडीको ठक्करबाट निधन भएको पुष्टि भएको छ। उनी पनि एक वर्ष अघि मात्र अमेरिका पसेका, परिश्रमी र सपनाले भरिएका युवा थिए। घरको आर्थिक भार कम गर्ने उद्देश्य बोकेर अमेरिका आएका ओपेन्द्र पनि परिवारका एकमात्र छोरा थिए। दुवै परिवार हाल गहिरो भावनात्मक र आर्थिक पीडामा छन्। अमेरिकन राप्ती समाजको समन्वयमा GoFundMe अभियानमार्फत संयुक्त आर्थिक सहयोग संकलन सुरु गरिएको छ। उक्त अभियानबाट संकलित रकम अन्तिम संस्कार, शव व्यवस्थापन र नेपालस्थित परिवारहरूको तत्काल राहतका लागि प्रयोग गरिनेछ।
