• ट्रेण्डिङ्ग :
अलैँचीको निर्यात ४४ प्रतिशतले बढ्यो

अलैँचीको निर्यात ४४ प्रतिशतले बढ्यो


  • 3.4K
    SHARES
    • आश्विन ९, २०८२ बिहीबार
    • ११ महिना अघि
    • 5.2K Views

    अलैँचीको निर्यात ४४ प्रतिशतले बढ्यो

    भद्रपुर,  असोज ९ गते ।  मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची निर्यात भएको हो । 

    images

    गत दुई महिनाको अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । आव २०८१/८२ को पहिलो दुई महिनाको अवधिमा रु ५९ करोड ७३ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो । 

    कार्यालयको तथ्याङ्कअनुसार चालु आवको दुई महिनामा चियाको निर्यात ३४ प्रतिशतले घटेको छ । उक्त अवधिमा रु ७५ करोड तीन लाख ४८ हजार बराबरको चिया निर्यात भएको छ । सूचना अधिकारी हुमागाईंका अनुसार आव २०८१/८२ को सोही अवधिमा रु एक अर्ब १३ करोड ७४ लाख आठ हजार बराबरको चिया निर्यात भएको छ ।

    भन्सार कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा छुर्पी ९८ दशमलव ३० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी १५५ दशमलव २० प्रतिशत, भेनियर सिट ७४ प्रतिशत, मुसुरो दाल ६५५ दशमलव १० प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता ९३ दशमलव ४० प्रतिशत, अदुवा ४१ दशमलव ८० प्रतिशत र अम्रिसो ३० दशमलव १० प्रतिशतले कमी आएको सूचना अधिकारी हुमागाईंले जानकारी दिनुभयो । 

    मेची भन्सारबाट चालु आवको दुई महिनामा रु तीन अर्ब छ करोड ३७ लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ । रासस

     


    तेस्रो आँखा