जेन-जी आन्दोलन मूलत युवापुस्ताको सपना र विद्रोहको प्रतिविम्बका रूपमा उदाएको थियो। जेन- जीकाे मुख्य लक्ष्य भ्रष्टाचार अन्त्य, सामाजिक न्याय, सुशासन, समानता र स्वतन्त्रताको खोजीमा आधारित थियो। तर समयक्रमसँगै यस आन्दोलनलाई कमजोर पार्ने, मार्गभ्रष्ट बनाउने र जनताको विश्वास गुमाउने खेल सुरु भयो।
विशेषगरी साम्राज्यवादी र विस्तारवादी मुलुकसँग जोडिएका एनजीओ र आईएनजीओहरूले जेनजी आन्दोलनको नाममा प्रवेश गरे। उनीहरूले उपलब्ध स्रोत, साधन र आकर्षक परियोजनाको लोभ देखाएर आन्दोलनलाई आफ्नो प्रभावमा ल्याउने प्रयास गरे। परिणामस्वरूप, आन्दोलनभित्र खैला बैला, अन्योल, भ्रम र अविश्वासको वातावरण सिर्जना भयो।
युवापुस्ताको उर्जालाई परिवर्तनकारी मार्गमा अघि बढाउनु पर्नेमा, विदेशी शक्तिको प्रभावले आन्दोलनलाई दिशाहीन बनायो। यसले गर्दा जनस्तरमा शंका पैदा भयो जेन-जी आन्दोलन साँच्चिकै जनताको हो कि साम्राज्यवादी हितको मुखौटा मात्र हो?
तर, यति मात्रैमा कथा समाप्त हुँदैन। समाजवादी जेनजीहरूले यो अवस्थाको चिरफार गर्ने ऐतिहासिक जिम्मेवारी लिएका छन्। उनीहरूको भनाइमा, जेनजी आन्दोलनलाई पुनः मार्गमा फर्काउने, बाह्य हस्तक्षेपलाई अस्वीकार गर्ने र समाजवादी मार्गदर्शनमार्फत नयाँ उत्साहसहित अघि बढाउने समय आएको छ।
समाजवादी धारको यो संकल्पले जनतालाई पुन:आशा दिएको छ। किनकि आन्दोलनको आत्मा बाह्य शक्तिको निर्देशनमा होइन, जनताको संघर्ष र बलिदानमा टेकेको हुन्छ। यदि समाजवादी जेन-जीले आफ्नो प्रतिबद्धतालाई कार्यान्वयन गर्न सके भने जेनजी आन्दोलन फेरि पनि जनताको आवाज, युवाको ऊर्जा र स्वतन्त्रताको प्रतीक बन्न सक्छ।
