• ट्रेण्डिङ्ग :
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँच हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँच हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने


  • 3.4K
    SHARES
    • मंसिर २१, २०८२ शनिबार
    • ९ महिना अघि
    • 5.2K Views

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँच हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    दाङ, मङ्सिर २०  । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलोपटक पाँच हजार जनाको सिकलसेल एनिमियाको परीक्षण गर्ने भएको छ । दाङका १० वटै पालिकाका जनप्रतिनिधिसँग शुक्रबार भएको छलफलमा प्रतिष्ठानले पाँच हजार जनामा परीक्षण सुरु गर्न लागेको जानकारी दिएको हो ।

    images

    सिकलसेलको परीक्षण मेसिन सञ्चालनमा आएपछि शनिबारदेखि अभियान सुरु गरिने प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिनुभयो । उहाँको अनुसार  ३१५ जना सिकलसेल पीडितलाई औषधी र उपचार सेवा दिइँदै आएको छ । एकै घरका चार सदस्यमा पनि सिकलसेल भेटिएको र यो रोग थारु, योगी तथा दलित समुदायमा बढी देखिएको उहाँले बताउनुभयो ।

    यस्तै, प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीका अनुसार अब जिल्ला बाहिर जानु नपरी प्रतिष्ठानमै परीक्षण गर्न सकिने भएकाले बिरामीलाई सहजता हुने भएको छ । प्रा. लम्सालले बालबालिकादेखि वृद्धसम्म पाँच हजार जनाको स्वास्थ्य परीक्षणबाट हालको अवस्थाको तथ्याङ्क सङ्कलन गर्न सकिने र भविष्यमा अध्ययन तथा अनुसन्धानका लागि समेत उपयोगी हुने बताउनुभयो  ।

    “सिकलसेल एनिमिया वंशाणुगत रोग हो, खानपानका कारणले हुने होइन,’’ उहाँले भन्नुभयो, ‘‘यस रोगमा रगतका कोषिका हसियाको आकारमा परिणत हुने भएकाले शरीरमा रगतको कमी, जण्डिस, हड्डी दुख्ने, पेट दुख्ने, र निमोनिया हुने जस्ता समस्या देखिन्छन् ।’’

    यद्यपि यस रोगको स्थायी उपचार छैन, तर समयमै परीक्षण र औषधी उपचार गरेमा नियन्त्रण गर्न सकिने चिकित्सकहरूको भनाइ छ । नियमित रगत परीक्षण, फोलिक एसिड सेवन, खोप र पानी तथा झोलिलो खानेकुरा लिन चिकित्सकले सल्लाह दिएका छन् । गोरखापत्र अनलाइन


    तेस्रो आँखा