टोकियो, जापान। जापानमा नेपाली कला, संस्कृति, पर्यटन, परम्परा, नेपाली स्वाद र नेपाली समुदायको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ १५औँ नेपाल फेस्टिभल २०२६ आयोजना हुने भएको छ। यही जुलाई १८, १९ र २० गते तीन दिनसम्म चल्ने उक्त महोत्सव टोकियोको शिनागावास्थित शिओकाजे पार्क (Taiyo no Hiroba, Odaiba) मा आयोजना हुनेछ।
नेपाल र जापानबीचको मित्रता तथा दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले आयोजना हुन लागेको यो महोत्सव जापानमा हुने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक कार्यक्रम मध्ये एक मानिन्छ।
गैर आवासीय नेपाली संघ (NRNA) जापान, नेपाली राजदुतावास जापान र नेपाल आदिबासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा हुन गइरहेको महोत्सवमा यस वर्ष “जापानमा नेपालको पहिचान अझ सशक्त बनाऔँ” भन्ने सन्देशलाई आत्मसात गर्दै नेपाली संस्कृति, पर्यटन, नेपाली उत्पादन तथा नेपाली समुदायको योगदानलाई जापानी नागरिक तथा अन्तर्राष्ट्रिय समुदाय माझ प्रस्तुत गर्ने लक्ष्य लिएको छ।
तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा नेपाली परम्परागत तथा आधुनिक सांस्कृतिक प्रस्तुति, विभिन्न जातजातिका भेषभूषा, नृत्य र लोकसंस्कृति, चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतिहरु रहने छन् ।
यसैगरी फेस्टिभलमा नेपाली व्यवसाय तथा उद्यमहरूको स्टल, स्वादिष्ट नेपाली खाना तथा परिकार, नेपालको पर्यटन, कला, हस्तकला तथा उत्पादनहरूको प्रदर्शनी र जापानी तथा विदेशी नागरिकलाई नेपालको संस्कृति नजिकबाट चिनाउने विशेष प्रस्तुतिहरु रहने छन् ।
आयोजकका अनुसार हजारौँ जापानी, नेपाली तथा विदेशी नागरिकको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रवेश सबैका लागि निःशुल्क राखिएको आयोजकले जनाएको छ।
नेपाल फेस्टिभललाई सफल पार्नको लागि IHNO (International Human Network Organization), NTB (नेपाल पर्यटन बोर्ड) र जापानको विदेश मन्त्रालय (Ministry of Foreign Affairs of Japan) सहयोगीको रूपमा रहेका छन्। त्यसैगरी यस वर्षको नेपाल फेस्टिभल २०२६ का Title Sponsor हरू Smiles Mobile Remittance, Smiles Connect रहेका छन् भने कार्यक्रम सञ्चालनमा CIC Cooperative र Sjob ले सहयोग गरिरहेका छन्।
जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई यो महोत्सवमा परिवार, साथीभाइ तथा जापानी मित्रहरूसहित उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन आयोजकले हार्दिक अनुरोध गरेको छ। विदेशमा बसेर पनि आफ्नो भाषा, संस्कृति, परम्परा र नेपालीपनलाई जगेर्ना गर्ने यो साझा अवसर भएकाले सबै नेपालीको सक्रिय सहभागिता आवश्यक रहेको आयोजकको विश्वास छ।
नेपाल फेस्टिभल केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई जापानमा नेपालको पर्यटन, संस्कृति, नेपाली खानाको स्वाद, नेपाली कला र नेपाली समुदायको एकता विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण अभियान पनि हो , “हामी जहाँ रहे पनि, हाम्रो पहिचान नेपाल हो। आउनुहोस्, जापानमा नेपालको गौरव अझ उज्यालो बनाऔँ। नेपाल फेस्टिभल २०२६ लाई ऐतिहासिक रूपमा सफल पारौँ।”
बिरेन्द्र पौडेल
